बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा आठ लाख बढीको क्षति 
2021/08/28, 11:15
 
bb

अनौखी खोला र धारापानी नदीको बाढीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका शङ्कर साउदको माछापोखरी र बङ्गुरको खोर बगाएको छ ।  दुई दिनअघि आएको बाढीले माछापोखरी र बङ्गुरको खोर बगाउँदा रु आठ लाख बढीको क्षति भएको छ । खोरमा पालिएका बङ्गुर र माछापोखरीमा रहेका माछा बाढीले बगाएपछि क्षति व्यहोर्नु परेको साउदले बताए ।

“ऋण निकालेर माछापालन र बङ्गुरपालनमा लागेको थिए”, उनले भने, “बाढीले बगाएर बिजोग पारेको छ ।” बाढीले विद्युत्का पोलसमेत बगाएका कारण दुई दिनदेखि बेलडाँडी गाउँमा विद्युत् सेवा अवरुद्ध रहेको स्थानीयवासी सुरत साउदले बताए ।

विद्युत्का पोल बगेपछि २०० परिवार अँध्यारोमै बस्न बाध्य भएको उनले जानकारी दिए ।  मणिका धाम जाने सडकसमेत नदीले कटान गरी बगाएकाले स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ । चुरे क्षेत्रमा भएको बर्षाका कारण तराई क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढी आएको थियो ।