दार्चुला घटना: प्रतिवेदन बनाउनै एक महिना, कूटनीतिक पहल कहिले ?
2021/09/05, 1:16
 
aa

भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका युवा जयसिंह धामीको विषयमा एक महिना बित्दा पनि सरकारले कूटनीतिक पहल गर्न आलटाल गरेको छ । जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन र दोषीलाई कारबाही गर्न सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । सोही घटनाको विषय लिएर केही दिनअघि मात्रै भारतका विदेश विभागका प्रवक्ता अरविन्दम बाग्छीले पत्रकार सम्मेलनमा आफूहरूलाई औपचारिक रूपमा महाकालीको घटनाको विषयमा कुनै जानकारी नभएको बताएका थिए । सो घटनाको विषयमा नेपाल सरकारले दिल्लीस्थित नेपाली दूतावासलाई त्यहाँको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउन निर्देशन नदिएकाले राजदूत निलाम्बर आचार्यले कूटनीतिक पहल थालेका छैनन् ।

घटना लगतै सरकारले कूटनीतिक पहलमार्फत दार्चुला घटनाको छानबिन र कारबाहीका लागि पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको एक कूटनीतिज्ञले बताए । यो विषयलाई राजनीतिक र कूटनीतिक तहबाट हल गरिनुपर्ने कूटनीतिज्ञहरू बताउँछन् । परराष्ट्र मन्त्रालयमार्फत घटनाको विषयमा भारत सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा योपटक दार्चुलाको स्थानीय प्रशासन र भारतको धार्चुलाको प्रमुख जिल्ला अधिकारीको तहमा पत्राचारमा सीमित हुन पुग्यो । तर, भारतको सीमा प्रशासनले एसएसबीको संलग्नताको विषयमा ठाडै अस्वीकार गरेपछि छानबिन प्रभावित बन्न पुगेको थियो ।

सरकारले १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिले तयार पार्न नसक्दा सरकारले भारतसँग सो घटनाको विषयमा ध्यानाकर्षण समेत गर्न सकेको छैन ।

तुइनको भरमा भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जान बाध्य नेपाली युवा बेपत्ता भएको विषयमा सरकार अझै आन्तरिक छानबिनमै छ । घटना कसरी भयो छानबिनमै रहेको भन्दै सरकार मौन बन्दै आएको छ । सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक सीडीओ ज्योत्सना भट्ट जोशी छन् ।

छानबिन समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा एसएसबीको संलग्नता किटान गर्दै दोषीउपर कानुनी कारबाही गर्न तथा धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको छ । घटना भएको एक महिना बितिसक्दा पनि सरकारले भारतीय राजदूत विनयमोहन क्वत्रालाई बोलाएर दार्चुला घटनाको विषयमा जानकारी दिनसमेत सकेको छैन ।’ सरकारले घटना भएलगतै परराष्ट्र मन्त्राल यमार्फत कूटनीतिक पहल गर्नुपर्ने हो तर अहिलेसम्म धेरै ढिला भइसक्यो,’ परराष्ट्रका एक अधिकारीले भने । विगतमा यस्ता घटनामा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर ध्यानाकर्षण गर्ने र दिल्लीस्थित नेपाली दूतावासबाट पनि भारतीय विदेश मन्त्रालयमा ध्यानाकर्षण गराउने गरिन्थ्यो ।

न्यूनतम मानवीय समवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय बासिन्दाले सत्यतथ्य अनुसन्धान गर्न र एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेका छन् । नदी तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

स्थानीयले कारबाही गर्न माग गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र पठाउँदै घटनाको छानबिन गर्न आग्रह गरेको छ । प्रशासनले पनि तुइनको डोरी खोल्न खोज्दा दुर्घटना भएको बेहोराको पत्र पठाएको थियो । भारतको एसएसबीले तुइन काटेको फोटो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइसक्दासमेत सोबारेमा छानबिन हुन सकेको छैन ।