सुदूरपश्चिमका किसानलाई धान भित्र्याउने चटारो
2021/10/16, 11:35
 
V

दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ।

यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन्। खेतमा लटरम्म धान पाकेका कारण पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ। धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा चिनिँदै आएका यहाँका बनिडुग्रिसैन, दिपायल, पिपल्ला, जोरायल, गड्सेरा, बर्छैन, सायल, पूर्वीचौकी लगायतका ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त भएका हुन्।

यो वर्ष समयमै बर्सात भएका कारण जिल्लामा प्रायः सबै ठाउँमा समयमै धान रोपाइँ सम्पन्न भएको थियो। कृषि ज्ञान केन्द्र सिलगढीका अनुसार जिल्लामा यो वर्ष धान उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ। किसानहरु समयमै धान काट्न सजिलो होस् भन्दै अहिले खेतमै खाना पकाएर खाने तथा दिनभरि धान काट्ने गरेका जोरायल गाउँपालिका–४ की स्थानीयवासी तक्ष्मीकुमारी ओलीले बताए। उनले भने, “समयमै धान पाकेको छ, पानी पर्ला र धान बिग्रेला भन्ने डरले हामी खेतमै खाना पकाएर खाने र दिनभरि धान काट्ने गरेका छौँ।”

दसैँ मनाउनका लागि घरमा आएकाहरु पनि खेतमा धान काट्न सहयोग गर्न थालेपछि यहाँका किसानलाई धान काट्न निकै सहज भएको स्थानीयवासी बताउँछन्। अहिले वृद्धवृद्धादेखि युवा समूह धान काट्नमा निकै सक्रिय भएका दिपायल सिलगढी नगरपालिका–३ का स्थानीयवासी भरत द्वारियाले बताए। उनले भने, “कामका लागि जिल्लाबाहिर गएकाहरु सबै घरमा आएका छन्, उनीहरु धान काट्नमा सहयोग गर्न थालेपछि रमाइलो भएको छ।” यहाँका प्रायः सबै क्षेत्रमा धान काट्ने चटारोमा युवायुवती बढी सक्रिय भएका देख्न सकिन्छ। विगतमा यहाँ धान काट्ने खेताला नपाउने गरेका कारण समस्या हुने गरेको भए पनि अहिले युवायुवती धान काट्नमा सक्रिय भएका कारण निकै सहज भएको बताइएको छ।