बाढीबाट विस्थापित परिवार विचल्लीमा
2021/11/01, 10:15
 
dd

कैलालीको भजनी नगरपालिका–७, हिम्मतपुरका शिवलाल चौधरीको सात जनाको परिवार दुई महिनादेखि स्थानीय हिम्मतपुर सामुदायिक वनको छेउमा टहरा बनाएर बसिरहेको छ । मोहना नदीमा आएको बाढीले तीव्र कटान गर्दा गत ८ साउनमा विस्थापित भएको उनको परिवार घर फर्कनसक्ने अवस्था छैन।

विस्थापित भएको केही दिनमै घरबास रहेको एक कठ्ठा जमिन नदीले बगाइसकेको छ । नदीले बगाउनुअघि आफै घर भत्काएर सामान सुरक्षित ठाउँमा सारेको चौधरीको परिवारको बसोबासको अन्य विकल्प नहुँदा समस्यामा छ । टहराको बसाइ निकै कष्टकर भए कतै जाने विकल्प नभएको उनले बताए ।

‘घरबास नदीले लग्यो । बचेको केही धुर जग्गा नदीकै किनारामा परेकाले त्यहाँ घर लगाउन मिल्ने अवस्था छैन ।’ चौधरीले दुख सुनाए, ‘घरटहरा बनाउन अन्यत्र आफ्नो जग्गा छैन, हामी विचल्लीमा परेका छौँ ।’

मोहनाको कटानले घर जोखिममा परेपछि विस्थापित स्थानीय जयराम चौधरीको परिवार हुलाकी राजमार्गको छेउमा त्रिपाल टाँगेर बसेको छ । उनको घरबास पनि नदीले कटान गरिसकेको छ । कटान तीव्र हुँदा नदी आँगनमै पुगेपछि उनले स्थानीयको सहयोगमा आफ्नो घर भत्काए । कच्ची घरको काठपातलगायत सामान हिम्मतपुर सामुदायिक वनको छेउमा राखेर उनी राजमार्गमा सरका हुन् ।

घामपानी, हावाहुरी नछेक्ने टहरामा बस्दा सर्प, किराफट्याङग्रा आदिको उत्तीकै डर रहेको उनले बताए । ‘खानेपानी, शौचालयको निकै समस्या छ ।’ चौधरीले भने, ‘विस्थापित साना बालबालिका र बुढापाकाहरुलाई झन् सास्ती छ ।’ घरबास बाढीले बगाएकाले कहाँ बस्ने भन्ने अन्यौल रहेको चौधरीले दुखेसो पोखे ।

मोहना नदी कटानले घर बगाउन थालेपछि विस्थापित भएका हिम्मतपुर गाउँका १५ परिवार बिचल्लीमा परेका हुन् । गत साउन पहिलो साता विस्थापित भएका उनीहरु स्थानीय हिम्मतपुर सामुदायिक वन र हुलाकी राजमार्गको छेउछाउमा टहरा बनाएर बसिरहेका छन् । घरबास नदीले कटान गरिसकेकाले उनीहरुको उठीबास भएको छ । घरबास नहुँदा आफूहरु विचल्लीमा परेको पीडितको गुनासो छ ।

जमिन कटान गर्दै नदी बस्तीमा सोझिएपछि उनीहरु विस्थापित भएका हुन । नदीले बगाउनुअघि नै प्रहरी र स्थानीय मिलेर जोखिममा रहेका घर भत्काएर सामान सुरक्षित स्थानमा सारेका थिए । नदीले बगाउन थालेपछि आफ्नै घर भत्काएर विस्थापित हुनु परेको पीडित किसनलाल चौधरीले बताए ।

विस्थापित परिवारले नगरपालिकाबाट त्रिपालबाहेक कुनै राहत र सहयोग नपाएको गुनासो गरेका छन् । बसिरहेको स्थानबाट बनले हटाए आफूहरुको थप विचल्ली हुने भन्दै सुरक्षित बसोबासको व्यवस्थाका लागि पहल गरिदिन उनीहरुले सरोकारवालालाई आग्रह गरेका छन् । सुरक्षित घरबासको व्यवस्था गरिदिन आग्रह गर्दै आफू जिल्ला प्रशासन कार्यालयमा पनि गएको जयरामले बताए ।

प्रमुख जिल्ला अधिकारीले स्थलगत अनुगमन गरेर आवश्यक सहयोग गर्ने आश्वासन दिएको स्थानीयको भनाइ छ । घरबासमात्रै भए पनि सरकारले उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । ‘स्थायी रुपमा सडकमा बस्न संभव हुँदैन । त्यसैले घर बनाउनका लागि भए पनि हामीलाई जग्गा दिनु प¥यो ।’ जयरामले भने । 

वडाध्यक्ष अमरबहादुर कठरियाले विस्थापितलाई अस्थायी रुपमा वनकै छेउमा बस्न दिन आग्रह गर्दै नगरपालिकाले प्रशासन र वन कार्यालयलाई पत्राचार गरेको बताए । घरबास कटान भएकाले विस्थापितहरु पहिलेकै ठाउँमा फर्कने अवस्था नरहेको उनले बताए ।  

मोहना नदीको बाढीले गाउँमा डुवान गर्ने भएकाले बाढी रोक्न स्थानीयले माटोको ड्याम बनाएका थिए । यस वर्षको बाढीले ड्याम पनि बगाएको छ । नदीले धार फेरेकाले अब गाउँ पनि सुरक्षित नरहेको हिम्मतपुरका भल्मन्सा बालकिसन चौधरीले बताए । नदीमा तटबन्ध नहुँदा केही वर्षयता करिब २० विघा जमिन कटानमा परेको स्थानीयको भनाइ छ ।

‘नदीले धार फेर्दै लगेकोले गाउँ सुरक्षित छैन । तटबन्ध नबनाउने हो भने ढिलोचाँडो गाउँनै विस्थापित हुनुपर्छ ।’ उनले भने, ‘सिंगो गाउँ जोखिममा परेकोले यहाँका जनप्रतिनिधि, स्थानीय निकाय, प्रशासन सबैलाई तटबन्ध बनाइदिन गुहार पनि मागेका थियौँ । सबैले आश्वासन दिए तर योजना आएन ।’ स्थानीयका अनुसार हिम्मतपुर गाउँमा एक सय एक परिवारको बसोबास छ ।