कार्यालयको भवन निर्माणको काम प्रभावित
2021/06/16, 1:03
 
dd

कैलालीको गोदावरी नगरपालिका वडा नं २ को भवन निर्माणको काम प्रभावित बनेको छ । वडा कार्यालयको भवन निर्माणका लागि पटक पटक स्थानिय सरोकारवालाहरुसंग छलफल गरेपनि स्थानियहरु बिच नै विवाद हुदाँ भवन निर्माणको काम प्रभावित बनेको हो ।

वडा कार्यालयको भवनका लागि भनेर वडाका जनप्रतिनिधिहरुले वडाबासी बिच ३ पटक सम्म छलफल गरेपनि स्थानियहरुमै कुरो नमिल्दा लामो समयदेखी वडाको भवन बन्न सकेको छैन् । स्थानियहरु बिच कहिले ठाउँको बिषयमा त कहिले उपभोक्ता समिती गठनका बिषयमा विवाद भैरहेको हो ।

सुरुमा वडा कार्यालयको भवन निर्माणाधिन अबस्थामा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक भवनको दोस्रो तल थप्दै पहिलो तलमा सामुदायिक वनको कार्यालय र दोस्रो तलमा वडा कार्यालयको भवन बनाउने बिषय छलफल भएको थियो । सो बिषयमा पनि कतिपयले त्यो राम्रो हुने बताएपनि कतिपयले वडा कार्यालयको भवन छुट्टै बनाउनुपर्ने भन्दै त्यसमा असहमति जनाएका थिए ।

जसका कारण पछि कुनै निर्णय हुन सकेन । फेरि दोस्रो पटक भएको छलफलमा उपभोक्ता समितिको गठनको बिषयमा कुरा नमिल्दा समस्या भएको हो । त्यति बेला उपभोक्ता समितीको अध्यक्ष को हुने भन्ने बिषयमा विवाद भएपछि त्यो बेला पनि कुनै काम अघि बढ्न सकेन ।

पछि वडाको भवन बनाउने भनेर खानीपानी नजिकै दुर्गा लक्ष्मी सामुदायिक वनको खाली जग्गामा भवन निर्माण स्थल लेखिएको बोर्ड राखिएको थियो । तर अहिले उक्त वोर्ड निकालेर वडा कार्यालयको भवन अन्यत्रै बनाउने भनेपछि स्थानियहरुले बिरोध जनाएका छन् ।

केही दिन पहिले मात्रै तेस्रो पटक भएको छलफलमा सहभागी स्थानियहरुले वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु बसेर गरेको निर्णयलाई लत्याउदै अर्का ठाउँमा सार्न नहुने भन्दै बिरोध जनाएका हुन् । सुरुमा वडा कार्यालयको भवन स साना बुट्यान मात्रै भएको खानेपानी नजिकैको खाली ठाउँमा बनाउन भनेर निर्णय गरेपनि पछि आ आफ्ना स्वार्थपूर्तीका अन्यन्त्र लैजाने थालेपछि आफुहरुले असहमती जनाएको स्थानिय लक्ष्मण बि.कले बताए ।

उनले सबैलाई पाइक पर्ने र रुख बिरुवाको संरक्षण पनि हुने हुदाँ सोही ठाउँमा वडा कार्यालय बनाउदाँ उचित हुने बताए । केही स्थानियहरुले जाहाँ भएपनि वडा कार्यालयको भवन बन्ने हुदाँ सबैले सहमति गरेर भवन निर्माणलाई अगाडी बढाउनुपर्ने जोड दिएका छन् ।

अहिले वडा कार्यालयको आफ्नो भवन नहुदाँ मासिक १२ हजार रुपैया तिरेर भाडाको घरमा कार्यालय संचालन भैरहेको छ । वडा कार्यालय बनाउनका लागि वडाको आफ्नो जमिन नहुदाँ दुर्गा लक्ष्मी सामुदायिक वनको खाली जग्गामा भवन बनाउने भनेपनि स्थानियहरु बिच नै विवाद हुदाँ भवन निर्माणका लागि आएको बजेट पनि फिर्ता जाने हो कि भन्ने चिन्ता बढेको छ ।

यता वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीले स्थानियहरुलाई सबैको सुझाव , सल्लाहमा भवन निर्माणको कामलाई अगाडी बढाउन खोजेपनि वडाबासीबिच कुरा नमिल्दा समस्या आएको बताए । उनले वडा कार्यालयको भवन निर्माणका लागि जिल्ला समन्ब्य समितीवाट चालु आर्थिक बर्षमा ६१ लाख रुपैया बजेट छुट्याइएको बताए ।

उनले अझै एक पटक स्थानियहरुबिचमा सहमतिका लागि छलफल गरिने र फेरि पनि बिवाद आएमा ठेक्का मार्फत भएपनि काम अगाडी बढाएर वडा कार्यालयको भवन निर्माण गरिने बताए ।