काठमाडौं - आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए ।
प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।
यता नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको जानकारी दिए । उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीज्यूले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याउनु भयो । आठवटै दलले त्यो प्रस्तावमा समर्थन जनायौँ ।’
सत्ता साझेदारीका अन्य विषय भने आगामी बैठकमा छलफल हुने उनको भनाई थियो ।