कृषिलाई पर्यटन मार्फत प्रबद्र्धनको प्रयासः धनगढीमा खुल्यो ग्रीन भिल्ला फार्म एण्ड रिसोर्ट
2021/11/09, 12:45
 
dd

सुदुरपश्चिमको अस्थायी राजधानी धनगढीको मुख्य चौराह हुदैं आन्तरिक राजश्व कार्यालयको पर्खाल छेउको बाटो हुदैं पश्चिमतिर लागेपछि रिङरोड आईपुग्छ । रिङ रोडको उत्तरतिर केही पाईलाहरु चाल्दै पश्चिमतिरको सानो बाटो भएर अगाडी बढ्दा आईपुग्छ ग्रीन भिल्ला फार्म एण्ड रिसोर्ट ।

1

रिसोर्ट र कामना एग्रो एण्ड टुरिज्म लेखेको गेटले त्यहाँ पुग्ने जो कोहीलाई दिल खोलेर स्वागत छ । अझ साँझपख पुग्दा सजाईएको बत्तीको झिलिमिलीले मन नै प्रफुलित बनाउँछ । पश्चिम क्षेत्रको छेउमै कलकलाउने मोहना नदीको चिसो हावासँगै चराहरुको चिरवीरले धनगढीको मुख्य बजार क्षेत्रको होहल्ला र कोलाहलबाट छुटकार दिएको अनुभुती हुन्छ । रमणीय र शान्त वातावरणसँगै अर्गाानिक परिकारहरुको स्वाद त्यो पनि आफ्नो रोजाई अनुसारको पाउँदा आनन्दले नरमाउने को होलान् ? 

2

लामो समयदेखि कृषि कर्ममा लागेर कामना एग्रो एण्ड टुरिज्म मार्फत नमुना फार्म बनाएका धनगढीका तन्नेरी युवा पंकज देउवाले सोही फार्मलाई ग्रीन भिल्ला फार्म एण्ड रिसोर्टको रुपमा विस्तार गरेर सञ्चालनमा ल्याएका छन् । उनलाई यो काममा साथ दिएका छन अर्का युवा रोशन पन्तले । यी दुई युवाले नयाँ सोचका साथ रिसोर्टको अबधारना ल्यायेका हुन । रिसोर्ट पारिवारिक जमघट, साथीभाईहरुसँगको भेटघाट गर्नका लागि उपयुक्त स्थान हो । आफ्नो अर्डर अनुसारका नेपाली खानाहरुका परिकारहरुलाई लाईभ म्युजिकको साथमा झुम्न सकिने रिसोर्ट सञ्चालक देउवा बताउँछन् ।

3

फार्ममा उत्पादन भएका अर्गानिक परिकारहरुले नै ग्राहकहरुको सेवा गरिन्छ । फार्ममा लोकल कुखुरा, कडकनाथ, बटईको मासु तथा अण्डाका साथै रैथाने प्रजातिका लुईटे, घाँटी खुईले, दुम्सी, लुईचे लगायतको पालन हुदैं आएको छ । त्यसका मन पर्ने परिकार आफुले चाहेको स्वाद अनुसार बनाउन लगाएर खाने व्यवस्था गरिएको छ । ‘कृषिलाई पर्यटन मार्फत आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि रिसोर्ट सञ्चालन गरिएको हो ।’ सञ्चालक देउवाले भने–‘फार्ममा उत्पादन भएका अर्गानिक परिकारहरु नै हामी ग्राहकहरुको चाहना अनुसार उपलब्ध गराउँदछौं ।’

तिहारको अवसरमा रिसोर्ट सञ्चालनमा ल्याईएको छ । उद्घाटनमा ठुलै तामझाम र तडकभडक हुने धनगढीमा यो रिसोर्टको भन्ने सामान्य रुपमा नै सञ्चालन गरिएको हो । अहिले ग्राहकहरुका लागि केही टहराहरु निर्माण गरिएका छन भने हल र कोठाहरु पनि निर्माण गरिएका छन् । रेष्टुरेन्ट, क्याविन वा कोठामा मन परेको ठाउँमा बसेर परिकारहरुको आनन्द लिन सकिनेछ । रिसोट सञ्चालनमा आएसँगै विस्तारै थप विस्तारको काम पनि अगाडी बढ्नेछ ।

रिसोर्टमा सुईमिङ पुल, पार्टी हल र सेमिनार हल विस्तारको योजना पनि क्रमशः अघि बढाईने देउवाले बताए । ‘कृषि मार्फत पर्यटन प्रबद्र्धन गर्नका लागि एकल प्रयासले मात्रै सम्भव हुदैंन । सबैको साथ चाहिन्छ । कृषिमा कर्म गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’ उनले भने–‘विदेशबाट फर्किएकाहरुलाई अनुदान र प्रोत्साहनका कार्यक्रमहरु धेरै भईरहेका छन् । तर यही स्वदेशमा बसेर कृषि कर्ममा लागिरहेका युवाहरुलाई पनि सरकारले हेर्नुपर्छ । चाहे जुनसुकै सरकार होस, सरकार भनेको हामी सबैको अभिभावक हो ।’

उनले लामो समयदेखि कामना एग्रो एण्ड टुरिज्म सञ्चालन गर्दै रिसोर्टसम्म आईपुग्दा एक रुपैयाँ पनि अनुदान लिएका छैनन् । जे जति गरेका छन् स्वयम आफ्नो लगानीमा गरेका छन् । उनको भनाई छ–‘हामीलाई अनुदान चाहिदैंन । गरेको काम हेरि दिओस् । थपथपाई दिओस् । हौसला दिओस् । बाँकी गर्नु त आफैं छदैछ ।’

कलिलो उमेरमा कृषिमा पक्कड बनाईरहेका छन पंकज
उमेरले २७ बर्ष पुगे पनि झट्ट हेर्दा पंकज देउवालाई आफ्नो काम गरिरहेको होला भनेर प्रायः कसैले पत्याउँदैन होला । भरखरै किशोरावस्था गए जस्तो लाग्ने उनको लवाई खवाई र हिडाई हेर्दा त भरखरै जवानी आउन लागेकोे जस्तो लाग्छ । अझ केटिएम वाईकमा कालो दाह्ीको साथमा हुईकिँदा देख्नेहरुले बुबा आमाले पुल्पुल्याएको छोरो होला भनि हाल्छन । अधिकांश सम्मान दिने, मौन बस्न रुचाउने र आफ्नै काममा लागिरहेका पंकज देउवाले कृषि कर्म थालेको चार बर्ष पुगेको छ । कृषि कर्मसँगै कृषिलाई पर्यटनसँग जोडेर रिसोर्ट पनि भरखरै सञ्चालनमा ल्याएका छन् । तर उनले तीन दशकदेखि व्यवसायिक कृषिमा लागेकाहरुलाई पछि पारिसकेका छन् ।

कलिलो उमेरमा पनि परिपक्क रुपमा उनले गरिरहेको कृषि कर्मले उनलाई नसोचेको लाभ दिईरहेको छ । चार बर्ष अघि उनले सुरु गरेको कामना एग्रो टुरिज्म फर्म मार्फत मासिक १० हजार लोकल कुखुरा उत्पादन गरिरहेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको फर्ममा उनले लोकल कुखुरा मात्रै होईन टर्की, कटकनाथ, वटईको पनि व्यवसायिक पालन गरिरहेका छन् । उनलाई फर्ममा उत्पादन भएका लोकल कुखुराको माग पुराउनै मुस्किल छ । कुखुरापालन सम्बन्धी कामसँगै उनले त्यससँग सम्बिन्धत काममा हात हालिसकेका छन् । दाङमा ह्याचरी उद्योग पनि संञ्चालन गरिरहेका छन् । सँगै सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा लोकल र वोईलर कुखुरा, दाना, चल्लाहरु पनि पठाईरहेका छन् । प्रदेशका केही जिल्लाहरुमा आफ्नो पक्कड बनाईसकेका छन् । केही जिल्लामा बनाउन प्रयासरत छन् । 
२३ बर्षको उमेरमा उनले कामना एग्रो टुरिज्म फर्म खोल्नका लागि दुई विगाह जमिन भाडामा लिएका थिए । त्यहाँ झण्डै करोड लगानी गरेर फर्मको सुरुवात गरेका थिए । तर उनले फर्म सञ्चालन गर्न गरेको लगानी घर परिवारको थिएन् । त्यो स्वयम उनले आफैं कमाएका थिए । फर्ममै अहिले रिसोर्ट पनि छ । फार्म र रिसोर्टमा अहिलेसम्म न कसैको अनुदान लिएका छन् नत घर परिवारबाट नै मागेका छन् । कुखुरापालनबाट कमाउँदै कृषि व्यवसायलाई विस्तार गरिरहेका छन् । हुन त उनले अनुदान नपाउने होईनन् तर लिन चाहेनन् । अनुदान कसरी पाउन सकिन्छ उनलाई राम्रोसँग ज्ञान छ । किनकी उनले यही क्षेत्रमा पाँच बर्ष विताए । उनी कृषि क्षेत्रमा लाग्नुको पछाडीको कारण पनि त्यही हो । 

पंकज १९ बर्षको हुँदा उनले रिज्म एफपिमा सहजकर्ताको रुपमा काम गर्ने मौका पाए । उद्यमसिलता सम्बन्धी काम गर्नुपर्ने भएकोले उनले त्यसैसँग सम्बन्धित धेरै कामहरु गरे । उद्यमसिलता विकास गर्नका लागि उनी कैलाली कञ्चनपुर र वर्दियाका गाउँ गाउँसम्म पुगे । विपन्न वर्ग र गरिबीको रेखामुनि रहेकाहरुलाई आत्मनिरभर बनाउन लागे । कृषि क्षेत्रलाई नजिकबाट नियाल्ने र बुझ्ने अवसर पाए । त्यहाँ जागीर गर्ने वेला नै सम्भावना पनि देखे । कृषि क्षेत्रको अनुदान पाउनका लागि लेख्नुपर्ने प्रस्ताव पत्र पनि लेख्न थाले । उनले लेखेका अनुदानका प्रस्ताव पत्रहरुले धेरै जनाले करोडौंको अनुदान पाए पनि ।

कैलालीका नाम चलेका र सुनेका व्यापारीहरुका लागि अनुदान पाउने प्रस्ताव पत्र लेखि दिएका थिए उनले । त्यो लेखे वापत मात्रै उनले लाखौं रुपैयाँ कमाउँथे ।  धनगढीमा टिस्युकल्चर प्रविधि भित्र्याउने प्रस्ताव पनि पंकजले नै लेखेका थिए । उनले अरु धेरै जनाको लागि पनि अनुदान पाउन प्रस्ताव लेखि दिएका छन् । पाँच बर्षसम्म कृषि क्षेत्रमा जागीर गर्दै प्रस्ताव लेखेर बचाएको रकमले नै कृषि उद्यम थालेका हुन् । आफ्नो क्षमता देखाएर राम्रो आम्दानी गरिरहेका उनले ७० लाख जति मात्रै बचाए । त्योभन्दा पनि वढी रकम त उनले खर्च नै गरेका होलान् । उनी पैसा खर्च गर्न दिलदार थिए ती दिनहरुमा । एकै दिनमा लाखौं रकम खर्च पनि गरेका थिए उनले । जन्मदिनमा पनि महँगो होटेलमा वुकिङ गरेर मनाएका थिए । उनसँग धेरै जना वेरोजगार साथी थिए । ती साथीहरुलाई खुवाउन र वसाउन मात्रै पनि लाखौं रकम खर्चिए उनले । आजको दिनमा ती वेरोजगार साथीहरुले काम गर्न थालेका छन् । तर विगतमा पंकजले पालेको कुरा विर्सिसकेका छन् । तर उनलाई त्यसले केही फरक पारेको छैन । त्यो वेला उनी अरुको जागीरको भरमा थिए तर आज उनी आफै उद्यमी बनेका छन् । करोडौं रकमको कारोवार गरिरहेका छन् । 

व्यवसायिक कुखुरापालनसँगै उनी लोखोन्मुख प्रजातिहरुको पनि पालन गरिरहेका छन् । साक्नी, घाँटी खुईले, दुम्सी लगायतका प्रजातिहरुको संरक्षण र प्रवद्र्धनका लागि त्यसको पालन गरिरहेका छन् । धनगढी पोल्टी हवको रुपमा विकास भईरहँदा पंकज पनि त्यसलाई पछ्याउँदै कृषि कार्यहरुलाई बढाउँदै लगिरहेका छन् । कामना एग्रो टुरिज्म फर्म सञ्चालन गर्नुअघि उनले धनगढीको वोराडाँडीमा देवसिंह ठगुन्नासँग मिले कुखुरापालन गर्न थालेका थिए । जागीरको क्रममा सिकेको सीपलाई प्रयोग गर्दै व्यवसायिक कुखुरापालन चलाए पनि पछि देवसिंहले त्यहाँबाट हात झिके । त्यसपछि उनले कामना फर्मलाई एकलौटी रुपमा चलाउन थालेका हुन् । आफ्नो फर्मसँगै कैलाली कञ्चनपुरका किसानहरुलाई चल्ला दाना दिएर लोकल कुखुरापालन गर्न दिन्छन् । समय पुगेपछि कुखुरा पनि आफै किनि दिएर त्यसलाई बजारीकरण गर्छन् । 

कलिलो उमेरमै कृषिका बहुमुखी क्षेत्रमा हात हाल्दै सफलता पाईरहेका पंकजको सफलताको पछाडी उनले गरेको रिसर्च नै हो । उनी कुनै पनि काम गर्नुअघि त्यसको सम्भाव्यता अध्ययन गर्छन् । जेमा राम्रो सम्भावना छन् । त्यो काम गर्छन् ।  लामो समयसम्म भएको लकडाउन र कोरोनाका कारण कुखुरापालन व्यवसाय संकटमा पर्दा पंकजले पनि त्यसको मार खेपे । तर उनले हरेस नखाई त्यसलाई टारे । चल्ला र दाना सुदुरपश्चिम वाहिरबाट मगाउनुपर्छ । पहिले सवै पैसा पठाउँदा पनि दाना र चल्ला पाउने स्थिति छैन् । अर्डर वुक गर्ने त कुरै छोडौं पैसा पठाएको धेरै पछि मात्रै चल्ला र दाना सुदुरपश्चिम आईपुग्छ । त्यसपछि मात्रै पहाडी जिल्लातिर पठाईन्छ । त्यही भएर सुदुरपश्चिम चल्ला उत्पादन गर्ने ह्याचरी र दाना उद्योगको आवश्यकता महसुस गरेका छन् । निजि क्षेत्रभन्दा पनि सरकारी स्तरबाट यसको यसको प्रयास गर्नुपर्ने उनको सुझाव छ । दाना र ह्याचरी उद्योग सरकारी निजि र किसानहरुको तर्फबाट संयुक्त साझेदारी गरेमा प्रदेशलाई पोल्ट्री क्षेत्रमा आत्मनिरभर बनाउन सकिने सुनौला दिनहरु आउने सपना देखेका छन् पंकजले । त्यसका लागि आफ्नो तर्फबाट गर्न सकिने योगदान गरिरहेका छन् पनि छन् । लागिरहेका छन् ।