सुदूरपश्चिमका अस्पतालमा ओपिडी सेवा सुरु
2020/05/12, 9:54
 
seti

सुदूरपश्चिमका अस्पतालमा ओपिडी र नियमित स्वास्थ्य सेवा सुचारु भएको छ । लकडाउनसँगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले ओपिडी सहित नियमित स्वास्थ्य सेवा सुचारु गरेको जनाएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरु सुचारु भएका हुन् । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले संघीय मन्त्रालय अन्तर्गत सञ्चालित, प्रदेश सरकार मातहत सञ्चालित, स्थानीय तह अन्तर्गत सञ्चालित स्वास्थ्य संस्था र अस्पताल तथा निजी र गैरसरकारी क्षेत्रबाट सञ्चालित अस्पतालहरुलाई ओपीडी सेवा सञ्चालन गर्न लिखित निर्देशन गरेको थियो । 


प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालले पनि कोरोना भाईरसको संक्रमणपछि बन्द रहेका बहिरंग (ओपिडी) सेवा आजदेखि सञ्चालन गरेको जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले कोरोना संक्रमणपछि बन्द रहेका सम्पूर्ण सेवाहरु आजदेखि सुचारु भएकोे बताए । प्रदेशमा रहेका विभिन्न जिल्ला अस्पतालहरुले पनि आजदेखि ओपिडी सेवा सुचारु गरेको जानकारी दिएका छन् ।