वर्षाले इँटा उद्योग ठप्प: कामविहीन बने मजदुर
2022/02/07, 1:56
 
kk

लम्कीचुहा नगरपालिका–३ बल्चौरका मुक्त कमैया मङ्गल चौधरीको गुजारा मजदुरीबाट चल्छ । उनी दिनभरि काम गरेपछि दुई छाक टर्ने गर्छ । त्यसैका लागि चौधरी धनगढीको इँटा उद्योगमा आएका छन् । तर, दुई महिनादेखि उनको काम ठप्प छ । हिउँदे वर्षाका कारण पुसबाटै इँटा बनाउने काम ठप्प भएको हो ।

‘काम नभएपछि बसेरै दिन कट्दै छ’, मङ्गलले भने । ‘कामै नभए, हामी गरिबले परिवार कसरी पाल्ने ?’ अहिले इँटा उद्योगमै बसिरहेकाले छाक टार्न उनलाई समस्या भएको छैन । तर, थाप्लोमा ऋण थपिदैं गएको छ । काम नगरी बसेका मजदुरलाई खानका लागि इँटा उद्योगबाटै ऋण मिलेको चौधरीले सुनाए । 

त्यस्तै, जानकी गाउँपालिका–९ बोक्लहुवाका बाबुराम पनि इँटा उद्योगमा बेकामे भएर बसेको दुई महिनै भइसक्यो । गतवर्ष पनि इँटा बनाउने मजदुरी गरेका उनी, यो वर्ष जहान बालबच्चा बोकेरै धनगढीको जयकाली इँटा उद्योगमा आए । तर, पुस महिनाबाटै काम ठप्प छ । जसको कारण, उनीमात्रै नभइ उनकी श्रीमती पनि बेकामे भएकी छन् । ‘कमाइ होला र गुजारा गरिएला भनेर इँटा भट्टामा मजदुरी गर्न आएको’, बाबुरामले भने । ‘तर, काम ठप्प छ । बसी–बसी खान बाध्य छौं ।’ 

मङ्गल र बाबुराम त प्रतिनिधि पात्रमात्रै हुन । तर, उनीहरु जस्तै कमाइको आश बोकेर मजदुरी गर्न इँटा उद्योगमा आएका मजदुर अहिले कामविहीन छन् । उनीहरु विहानैदेखि श्रम गर्ने ठाउँ हिउँदे वर्षाको पानीले भरिएको छ । मैदानमा श्रम गर्नुपर्ने मजदुर वर्षा भएपछि झुप्रोमा बसेर समय बिताउँदैछन् । 

कमाउनका लागि आएका आफूहरु काम ठप्प भएपछि उल्टै ऋणमा डुविरहेको जानकी गाउँपालिका–९ बोक्लहुवाकी लहानी चौधरीले बताइन् । ‘काम नभएको पेटले बुझ्दैन, बसिबसाउ भए पनि खानै प¥यो’, उनले थपिन् । ‘उधारोमा खाँदैखाँदै ऋणैऋण भइसकेको छ ।’ 

सिजनमा इँटा उद्योगबाट मजदुरहरुले राम्रो कमाइ गर्ने गरेका छन् । उनीहरुलाई प्रति इँटा उत्पादनवाफत एक रुपैयाँ मिल्छ । राम्ररी काम भएमा एक जनाले एक दिनमा एक हजारदेखि एक हजार दुई सय वटासम्म इँटा उत्पादन गर्ने गर्दछन् । त्यसैले इँटा बनाउने कार्यमा परिवारै आउने गर्दछन् । 

लहानी र उनका श्रीमान पनि बालबच्चा बोकेरै इँटा उद्योगमा पसेका छन्, मजदुरी गर्न । तर, काम ठप्प हुँदा दुवै जना बेकामे भएर दिन गुजारिरहेका छन् । घाम लाग्ने र काम हुने आशैआशमा इँटा उद्योगमा बेकामे भएर बसेको दुई महिना भइसकेको लहानीका श्रीमान फूलरामले बताए । 

‘सुकेपछि काम सुचारु होला भनेर हामी घर गएका छैनौं’, उनले भने । ‘तर, पटक–पटक पानी परेर इँटा बनाउने कार्य ठप्पको ठप्पै छ ।’ काम नहुँदा यो वर्ष कमाईको साटो उल्टै ऋण लागिरहेको चौधरीले बताए । ‘काम नभए पनि उधारोमा खानै प¥यो’, उनले भने । ‘पानी परेर हाम्रो त रोजीरोटीकै समस्या छ ।’

बर्खा सकिएपछि हिउँददेखि चैत–वैशाखसम्म इँटा उत्पादनको सिजन हो । बर्खा लाग्नु अगावै इँटा भट्टीमा हालेर पकाउनु पर्ने हुन्छ । सिजनमा इँटा उत्पादन गर्न र भट्टीमा हाल्न, निकाल्नका लागि एउटै उद्योगमा एक सयसम्म मजदुर काम गर्ने गरेका छन् । तर, वर्षाले इँटा व्यवसाय नै चौपट गरेपछि त्यसमा आश्रित मजदुर बेकामे बनेका हुन । 

पुसमा आएको पानीले १७ लाख इँटा नष्ट गरेपछि काम ठप्प गरिएको जयकाली इँटा उद्योगका म्यानेजर गोविन्द चौधरीले बताए । ‘एक÷डेढ महिनैदेखि काम ठप्प छ’, उनले भने । ‘पहिलेको पानीले १७ लाख काँचो इँटा नष्ट गरेपछि हामीले उत्पादन रोकेका छौं ।’

उनले उत्पादन नभए पनि काम गर्ने मजदुर उद्योगमै रहेको तर, काम नहुँदा उनीहरुले पारिश्रमिक नपाउने बताए । ‘मजदुरहरुले इँटा उत्पादन गरेवाफत पारिश्रमिक पाउने हो’, म्यानेजर चौधरीले भने । ‘इँटा उत्पादन नहुँदा पारिश्रमिक पाउँदैनन् । तर, उनीहरुलाई खानपानका लागि पछि कटाउने गरी सहयोग गर्ने गरिएको छ ।’

यो वर्ष पटक–पटक भइरहेको वर्षाले कैलालीको विभिन्न ठाउँमा रहेको इँटा उद्योगमा लाखौं काँचो इँटा नष्ट भएको छ । वर्षाका कारण ठूलो नोक्सान व्यहोर्नु परेको इँटा व्यवसायीको भनाइ छ ।