बाजुराको बुढीगंगा २ महिनादेखि प्रमुख प्रशासकीयविहीन, स्थानीयले लगाए ताला
2022/02/14, 9:50
 
dd

बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्। नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीयविहीन बनेको भन्दै सोमबार स्थानीयले तालाबन्दी गरेका हुन्। अधिकृत नहुँदा स्थानीयलाई सेवा लिनै समस्या भएको छ।

प्रेमकाजी महर्जन मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिनादेखि प्रमुख प्रशासकीयविहीन बनेको छ। प्रमुख प्रशासकीय अधिकृत नहुँदा मंसिर महिनादेखि आर्थिक कारोबार पूर्णरुपमा बन्द छ। योजना सम्झौता भएरे काम सम्पन्न गरेपनि भुक्तानी नुहँदा उपभोक्ताहरु मारमा परेको तल्लो साइल गाउलेन बिस्तार समितिका अध्यक्ष बिमल थापाले बताए। पुसमै काम सकेर नगरपालिकामा सबै कागजात बुझाएको भएपनि कार्यकारी नभएकाले भुक्तानी नभएको थापाले बताए। 

प्रमुख प्रशासकीय नहुँदा नगरपालिकाका शिक्षकहरुले ४ महिनादेखि तलब पाएका छैनन्। यस्तै कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, पोषण भत्ता वितरण हुन नसकेको स्वास्थ्य शाखा प्रमुख दिपक शाहले बताए।  नगर उपप्रमुख तारा खातीले भने कार्यकारीका लागि मन्त्रालयमा धेरैपटक प्रयास गरेको बताइन्।