सुध्रिएन बझाङको विद्युत् सेवा
2022/02/20, 1:36
 
dd

लामो समयदेखि विद्युत् अभावको समस्या खेपिरहेका बझाङवासी राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्दा हर्षित भएका थिए । राष्ट्रिय प्रसारण पुगेपछि बिजुली अवरुद्ध हुने समस्याबाट मुक्ति पाउने आशा राखेका बझाङवासीहरूको आशा दिनहुँजसो विद्युत् अवरुद्ध हुन थालेपछि निराशामा परिणत भएको छ ।

राष्ट्रिय प्रसारण लाइन पुगेको चार वर्ष भइसक्दा पनि विद्युत् सेवा अनियमित हुन नरोकिएपछि यहाँको दैनिक जनजीवन र व्यापार व्यवसाय प्रभावित भएको छ । चार वर्षअघि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यस जिल्लामा सेवा सुरु भएदेखि नै पटकपटक विद्युत् सेवा अवरुद्ध हुने गरेका कारण उपभोक्ताहरू मारमा परेका हुन् । मौसममा सामान्य बदली हुँदा विद्युत् अवरुद्ध हुने समस्या ४ वर्षसम्म पनि हट्न सकेको छैन । बादल लाग्दा, हावा चल्दा र पानी पर्दासमेत विद्युत् अवरुद्ध हुने गर्दछ ।

‘अब राष्ट्रिय लाइन आयोजना बिजुलीका दुःख हट्ने भयो भनेर खुसी भयौँ,’ सदरमुकाम चैनपुरका स्थानीय प्रेम बमले भने ‘झन् पहिलाको भन्दा बढी अवरुद्ध हुन थाल्यो । देश लोडसेडिङ मुक्त भनेर घोषणा भएको छ । हामी भने हप्तौँसम्म अन्धकारमै बस्नुपरेको छ ।’ पुस र माघ महिनामा हिमपात हुँदा बझाङको विद्युत् सेवा १० पटकभन्दा बढी अवरुद्ध भइसकेको र माघ अन्तिम साता त हप्तादिनभन्दा बढी विद्युत् नआएको उनले बताए ।

राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिला यहाँका बासिन्दालाई विद्युत् प्राधिरकरणले नै निर्माण गरेको २ सय किलोवाट क्षमताको सुर्मादेवी साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वितरण गर्ने गरिएको थियो । राष्ट्रिय प्रसारण लाइनमा खराबी आएका बेला सदरमुकाम र आसपासका गाउँलाई सेवा दिँदै आएको यो विद्युत् पनि गत कात्तिकमा आएको बेमौसमी बाढीका कारण हाल बन्द रहेको छ । बाढीले इन्टेक र नहर बिग्रिएकाले यसको मर्मत हुन सकेको छैन ।

विद्युत् नभएका कारण बिक्री नभएको मासुलाई भण्डारण गर्ने व्यवस्था नहुँदा अधिकांश मासु पसलले दैनिक ठूलो घाटा व्यहोर्नुपरिरहेको छ । यस्तै दूधजन्य पदार्थ पनि भण्डारण गर्न समस्या भएका कारण खेर फाल्नुपरेको डेरी सञ्चालक सावित्री सिंहले बताइन् । बझाङ सदरमुकाम चैनपुरमा मात्र ३० भन्दा बढी मासु पसल र ८ वटा डेरी रहेका छन । यस्तै विद्युत् सेवा नियमित नभएका कारण उद्योग व्यवसाय ठप्प हुने गरेको छ । ग्रिल उद्योग सञ्चालक रमेश जोशीले भने ‘विद्युत् नियमित नहुँदा उद्योग बन्द गरेर बस्नुपर्छ । कामको चाप भए पनि हात बाँधेर बस्नुपर्छ ।’ पाँच जनालाई रोजगारी दिइरहेको उनको उद्योग विद्युत् अनियमितताले पटक–पटक बन्द गर्नुपर्दा कर्मचारीलाई तलब दिन पनि समस्या भइरहेको उनले बताए ।

विद्युत् नभएका कारण कार्यालयका दैनिक कामकाज, बैंकिङ सेवा पनि प्रभावित हुने गरेका छन् । बिजुली अभावमा मोबाइलसमेत चार्ज गर्न नपाएपछि खबर आदानप्रदान गर्न पनि समस्या हुने गरेको स्थानीयहरूले बताएका छन् । जयपृथ्वी नगरपालिका र आसपासका पाँच हजारभन्दा बढी घरपरिवार, कार्यालय र उद्योगधन्दा लामो समयसम्म प्रभावित हुने विद्युत् अनियमित हुन थालेपछि स्थानीयहरू आक्रोशित हुन थालेका छन् ।

अधिकांश स्थानीयले राष्ट्रिय प्रसारण लाइन विस्तारका क्रममा विद्युत् प्राधिकरणका कर्मचारीको मिलेमतोमा ठेकेदारले कमसल सामान प्रयोगले यसो हुने गरेको आरोप लगाएका छन । जयपृथ्वी नगरपालिका– ४ का स्थानीय चन्द्रजंग सिंह भन्छन्, ‘आकाशमा बादल लाग्दा पनि विद्युत् बन्द हुन्छ । अलि जोडको हावा चल्दा पनि बन्द हुन्छ । यस्तो विद्युत् त कहीं देखेको थिएन ।’ विद्युतीकरणको प्राविधिक पक्षबारेमा जानकारी राख्ने उनले राष्ट्रिय प्रसारण लाइनका

पोल तोकिएको गुणस्तरअनुसार नगाडिएका कारण सामान्य हावा चल्दा ढल्ने गरेको, कमसल गुणस्तरका इन्सुलेटर, तार, फ्युज, सकेटलगायतका सामग्री प्रयोगका कारण पटकपटक विद्युत् अवरुद्ध हुने गरेको बताए । यता नेपाल विद्युत् प्राधिकरणको बझाङ वितरण केन्द्रका निमित्त प्रमुख हरेन्द्र राय यादवले भने बैतडीदेखि बझाङसम्मको लाइनको दूरी पनि स्वाभाविकभन्दा लामो भएका कारण पटकपटक समस्या आउने गरेको बताए । उनले झन्डै ९० किलोमिटर लामो लाइन भएको र अधिकांश हिमाली क्षेत्रमा पर्ने भएकोले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको बताए । बझाङको लाइनमा डडेल्धुरामा विद्युत् बिग्रँदा पनि बझाङबाटै गएर मर्मत गर्नुपर्ने भएको हुनाले पनि यो समस्या देखिएको उनको भनाइ छ ।

‘बाटोमा जंगलै जंगल छ । कहिले रूख ढल्छ, कहिले हाँगाले लाइन छोएर विद्युत् बिग्रन्छ । हिउँ पर्दा, पानी पर्दा र ठूलो हावा चल्दा पोल ढल्ने समस्या पनि छ । धेरै लामो लाइन भएको कारण यस्तो समस्या भएको हो,’ यादवले भने, ‘डडेल्धुरा बैतडीमा केही समस्या भयो भने बझाङबाट मर्मत गर्न जानुपर्छ । त्यहाँ पुग्दै एक दिन लाग्ने भएकाले पनि लामो समय विद्युत् अवरुद्ध हुन्छ ।’