भू–स्वर्ग खप्तडमा पर्यटकको चहलपहल
2022/02/22, 11:09
 
dd

कोरोना कहरका कारण धेरै समयसम्म सुनसान सुदूरपश्चिमको प्रख्यात पर्यटन गन्तव्य खप्तडमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । फागुनको पहिलो साताबाट ‘हेली टुर’ सञ्चालन गरिएपछि खप्तड घुमघामका लागि आन्तरिक पर्यटक पुग्न थालेका हुन ।

अहिले खप्तडमा चहलपहल निकै बढेको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि फागुन १ गतेबाट ‘हेली टुर’ सुरु गरिएको थियो । कोरोनाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो ‘हेलि टुर’ को सञ्चालन भइरहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जनाएको छ । आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको नाटाको ठहर छ । 

बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम  प्रदेश, माउण्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासङ्घ, सुदूरपश्चिम तथा होटेल व्यवसायी महासङ्घ सुदूरपश्चिमको सहकार्यमा टुर आयोजना भइरहेको हो ।

हेलिकोप्टर चढेर सर्वसाधारणदेखि लिएर प्रदेशका मन्त्रीसमेत खप्तडको भ्रमण गरिरहेका छन् । केही दिन अघि मात्रै खप्तड बडिमालिका हेलि टुरमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले खप्तडको भ्रमण गरेका छन् । प्रदेशका अर्थमन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार मन्त्री दीर्घ सोराडीले खप्तड भ्रमण गरेका थिए । 

१० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने नाटा सुदूरपश्चिमको लक्ष्य छ । पहिलो चरणमा विभिन्न प्याकेजसहित खप्तड दिपायल, झिग्राना खप्तड, धनगढी र महेन्द्रनगर देखि झिग्राना, दिपायल बडिमालिका, दिपायल खप्तड बडिमालिका र  साँफेबगर बडिमालिका लगायत स्थानबाट अवलोकन गर्न जाने व्यवस्था मिलाइएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए ।

स्थानको हिसाबले १२ हजारदेखि ४० हजारसम्मका प्याकेजहरू उपलब्ध गराइएको छ । खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलको रूपमा रहेको छ । यहाँ वर्षमा ६ महिना हिउँले ढाक्ने गर्दछ । अहिले हिउँका कारण खप्तडको दृश्य मनमोहक रहेको छ ।

खप्तडमा रहेका २२ पाटन हिउँले ढपक्क ढाकेर अप्सरा झैँ देखिएका छन् । खप्तडमा अझै हिउँ करिब चार पाँच फिट जति रहेको छ । बडिमालिकामा समेत हेली टुर सञ्चालन गर्ने भनिए पनि बाक्लो हिउँका कारण हेलिकप्टर बस्न नसकेर पर्यटकहरू आकाशबाटै बडिमालिकाको दृश्यावलोकन गरेर फर्किरहेका छन् । भू–स्वर्ग खप्तडमा पर्यटनको ठूलो सम्भावना रहेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउँछन् । उनले हिउँ भएको बेला आन्तरिक र बाह्य पर्यटक घुम्नका लागि खपतड निकै महत्वपूर्ण स्थान रहेको बताए । 

सम्भावना हुँदाहुँदै पनि खप्तडले पर्यटक पाउन नसक्नु दुःखद् रहेको उनको भनाइ थियो । उपयुक्त व्यवस्थापन हुन नसक्नु, सुरक्षा अभाव लगायतका कारणले सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रहरुले पर्यटक पाउन नसकिरहेको उनको भनाइ छ । ‘अहिले पनि खप्तडमा १० फिटसम्म हिउँ जमेको छ’, हेलि टुरमार्फत खप्तड भ्रमण गरेर आएका उनले भने । ‘तर, यसको प्रचारप्रसार नै हुन सकेको छैन ।’

सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, बझाङ र बाजुरा गरी चार जिल्लामा यो निकुञ्ज फैलिएको छ । २२५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्ज पद्यात्राका लागि ठूलो सम्भावना बोकेको ठाउँ हो । यहाँ खप्तड बाबाको मन्दिर, घाँसे मैदान अवलोकन गर्न लायक छ । हिउँदभरि यो निकुञ्ज हिम फूलले सेताम्य बन्ने गर्दछ ।

खप्तड राष्ट्रिय निकुञ्जसम्म जानका लागि अब पहिलेको जस्तो कठीनाइ छैन । प्रदेशको अस्थायी राजधानी धनगढीबाट विमान चढेर डोटीसहित अन्य जिल्ला पुग्न सकिन्छ । पछिल्लो समय डोटीको झिग्रानामा झिग्राना र बझाङमा मुनाल होमस्टे सञ्चालनमा आएको छ । होमस्टे खुलेपछि दुवै रुटबाट खप्तड प्रवेश सहज बनेको छ । खप्तडलाई भू–स्वर्गको रुपमा चिनाउने गरिएको छ । तर, खान, बस्न उचित व्यवस्था नभएका कारण पर्यटकका लागि निकै उत्कृष्ट यो गन्तव्यले अझै पनि पर्यटक पाउन सकेको छैन । 

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भोजराज पाठकले खप्तडमा विभिन्न प्याकेज बनाएर पर्यटक पु¥याउन नसकिरहेको बताउँछन् । ‘खप्तडमै क्याम्प गरेर बस्ने गरी हामीले अहिलेसम्म क्वालिटी पर्यटक पु¥याउन सकेका छैनौं’, उनले भने ।