अर्को निर्णय नभएसम्म विद्यार्थी भर्नामा रोक
2020/05/12, 12:19
 
education

 कोरोना भाईरस (कोभिड - १९) सक्रमणको जोखिम नियन्त्रणका लागि भएको लकडाउन जारी रहेकाले तत्काल कुनै पनि विद्यालयमा नयाँ भर्ना गर्न शिक्षा मन्त्रालयले रोक लगाएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुले नयाँ भर्ना शुरु गर्न सक्ने बताएको उल्लेख सहित केही सञ्चार माध्यममा खबर सार्वजनिक भएको भोली पल्ट शिक्षा मन्त्रालयले अर्को निर्णय नहुँदा सम्म नयाँ भर्नामा रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रीको उक्त भनाई सहितको खबरका पक्ष र विपक्षमा व्यापक प्रतिकृया सार्वजनिक भईरहेको थियो । तर, मन्त्री स्तरीय निर्णयलाई उदृत गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ भर्ना र पठन पाठनका बारेमा स्पष्ट पारेका छन् ।

यो सहित भर्नाका नाममा कुनै किसिमको शुल्क लिने, अनलाईन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्य नगर्न नगराउन पनि मन्त्रालयले सचेत गराएको छ । यो सहित भएका अन्य निर्णय मध्ये कक्षा १०, ११ र १२ का परीक्षा सम्बन्धमा सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको भन्दै मन्त्रालयले परीक्षाका बारेमा कुनै थप वा नयाँ निर्णय नभएको पनि जनाएको छ ।

यसैगरी निजी विद्यालयले लिने शुल्क मध्ये एक महिनाको शुल्क छुट दिने नेपाल सरकारको यस अघि कै निर्णय कार्यान्वयन गरी अभिभावक तथा स्थानीय सरकारलाई जानकारी गराउन पनि भनिएको छ ।