धनगढीको फूलवारी क्याम्पस चरम आर्थिक संकटमा
2022/04/18, 3:56
 
ss

कैलालीको धनगढी उपमहानगरपालिका –१८ स्थित फूलवारी बहुमुखी क्याम्पस चरम आर्थिक संकटमा परेको छ । दिगो आर्थिक स्रोतको अभावमा क्याम्पस चरम आर्थिक संकटमा परेको हो । क्याम्पस १ करोड १० लाख रकम ऋणमा डुवेको छ भने प्राध्यापकहरुले बिगत २/३ वर्षदेखि तलब खान पाएका छैनन् ।

क्याम्पसमा चरम आर्थिक संकट परेपछि यसको प्रत्यक्ष मारमा प्राध्यापक र बिद्यार्थीमा परेको छ । जसका कारण क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुले लामो समयदेखि तलब खान पाएका छैनन् भने बिद्यार्थीको संख्यामा समेत गिरावट आएको बताईएको छ ।  पटक–पटक तलब पाउने आश्वासन पाएपनि समयमै तलब पाउन नसकेको क्यम्पस प्राध्यापक किरण अधिकारीले बताए । समयमै तलब नपाउने हो भने अध्यापनको कार्य नै रोक्नुपर्नेको बिकल्प नभएको अधिकारीको भनाई छ ।

क्याम्पस चरम आर्थिक संकटका कारण बिद्यार्थीको भबिष्यमा खेलवाड भएको बताउनुहुदै सोही क्याम्पसमा अध्यापनरत प्राध्यापक श्याम जोशीले बिद्यार्थीहरु स्थानान्तर मागिरहेकोे समेत उनको भनाई छ ।  यस्तै क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले पनि आर्थिक संकटका कारण पठन–पाठनमा गुणस्तर खस्किदै भएको बताएका छन् । यता क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष रमेश बस्नेतले प्रदेश सरकार, स्थानिय सरकार ,संघिय सरकारसंग आर्थिक संकट हल गर्न पहल गर्दा समेत अबस्था सुधार हुन नसकेको बताए ।

क्याम्पसको आर्थिक अबस्था सुधार गर्न बिभिन्न योजना बनाए पनि समुदायको अपनत्व महसुस हुन नसकेका कारण दिनप्रतिदिन क्याम्पसले आर्थिक संकट झेल्नु परेको अध्यक्ष बस्नेतले बताए । बिक्रम सम्वत् २०६६ सालमा समुदायिक स्थरबाट स्थापना भएको क्याम्पसमा २ सय ५० बढी बिद्यार्थी शिक्षासंकाय र वाणिज्य संकायमा स्नातक तहमा अध्ययनरत रहेका छन् ।प्राध्यापक र कार्मचारी गरी १८ जनाको मासिक ४ लाख रकम तलबमा मात्र खर्च हुने गरेको क्याम्पस प्रमुख यमबहादुर पौडेलले जानकारी दिए ।