दश वर्षमा शुक्लाफाँटामा २८ हजार बढी पर्यटक
2022/06/08, 12:15
 
ss

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पछिल्लो १० वर्षमा २८ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । 

स्वदेशी र विदेशी गरेर २८ हजार ९६६ जना पर्यटकले अवलोकन गरेका हुन । जसमध्ये एक हजार ६४७ जना विदेशी, एक हजार २३ जना सार्क राष्ट्रका र बाँकी स्वदेशी पर्यटक रहेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । 

निकुञ्जका अनुसार आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७५÷७६ सम्म क्रमशः ५४०, ४७१, ९८४, ८२४, एक हजार ९१९, दुई हजार ६४०, चार हजार ७४० र १२ हजार १३८ जना पर्यटक शुक्लाफाँटाको भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी ३५० जना विदेशी पर्यटकले शुक्लाफाँटा भ्रमण गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

कोरोना महामारीकै क्रममा गत आर्थिक वर्ष २०७७/७८ मा तीन विदेशीसहित दुई हजार ९३५ जना पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । कोरोना महामारी सुरु भएको आर्थिक वर्ष २०७६/७७ मा १०० विदेशीसहित एक हजार ७७५ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए । 

कोरोना महामारीका कारण शुक्लाफाँटाकोमात्रै नभइ सबै ठाउँमा केही वर्षसम्म पर्यटन ठप्प भएको थियो । कोरोना महामारी कम भएपछि फेरि पर्यटन गतिविधि बढेको छ । पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । कोरोनाका कारण प्रभावित जनजीवनदेखि लिएर विभिन्न क्षेत्र सहज भएपछि घुमघामका लागि पर्यटक आउन थालेका हुन । महामारीका क्रममा थला परेको शुक्लाफाँटाको पर्यटन विस्तारै लयमा फर्केको छ । 
 

‘कोरोना महामारी घटेपछि शुक्लाफाँटामा घुमघामका लागि अलि–अलि पर्यटक आउन थालेका छन्’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले भने । ‘तर, सङ्ख्या धेरै छैन । घुमघाम गर्ने बढीजसो हाम्रै आन्तरिक पर्यटक हुन ।’ 

कञ्चनपुरमा रहेको यो राष्ट्रिय निकुञ्ज बाह«ासिङ्गाको ठूलो झुन्ड अवलोकनका लागि प्रख्यात छ । ठूलो घाँसे मैदानमा देखिने बाह«ासिङ्गा अवलोकनका लागि विदेशबाट पनि पर्यटक यहाँ पुग्ने गर्दछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका लागि यो बेला ‘पर्यटन सिजन’ हो । माघदेखि जेठसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि अति उपयुक्त समय मानिन्छ । तर, सिजनको बेला विभिन्न ठाउँका पर्यटक घुम्नका लागि शुक्लाफाँटा पुगिरहेका छन् । घुमघाम गर्नेको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । 

नेपालको सबैभन्दा कान्छा राष्ट्रिय निकुञ्जको रुपमा रहेको शुक्लाफाँटामा दुई हजार २८० वटा बाह«ासिङ्घा छन् । जुन प्राय एउटै झुन्डमा देखिने गर्दछन् । यसैगरी, अघिल्लो गणना अनुसार बाघको सङ्ख्या १६ रहेको छ । बाघको गणना कार्य हालै पनि भएको छ । तर, त्यसको नतिजा सार्वजनिक भएको छैन । निकुञ्जमा १७ वटा एक सिङ्गे गैडा, १७८ वटा कृष्णसार, ५ देखि १० वटा रैथाने जङ्गली हात्ती रहेका निकुञ्ज कार्यालयले जानकारी दिएकोछ । 

सो कार्यालयका अनुसार मौसमी वा घुमन्ते जङ्गली हात्तीको सङ्ख्या भने ५० देखि ८० को हाराहारीमा रहेको छ । मौसमी जङ्गली हात्तीहरु नेपाल–भारतको संरक्षित क्षेत्रमा ओहोरदोहोर गरिरहने गरेको जनाइएको छ ।यस्तै, शुक्लाफाँटा निकुञ्जमा विभिन्न स्तनधारी जनावरदेखि लिएर विभिन्न प्रजातिका चराचुरुङ्गी पनि अवलोकन गर्न पाइन्छ । यो निकुञ्जमा ४५० प्रजातिका चरा पाइने गरेको अभिलेख छ । विश्वमै दुर्लभ मानिएका खर मयुर नेपालमा शुक्लाफाँटामामात्रै रहेका छन् ।

निकुञ्जको प्राकृतिक सुन्दरता, विभिन्न प्रजातिका वन्यजन्तु, चराचुरुङ्गी अवलोकन तथा घुमघामका लागि आन्तरिक र बाह्य पर्यटक शुक्लाफाँटामा आउने गरेका छन् । पर्यटकको सङ्ख्या विगतभन्दा कम रहे पनि क्रमिक रुपमा सुधार हुँदै गएको प्रमुख संरक्षण अधिकृत मेहताले बताए ।

‘दुई वर्ष पहिलेको जस्तो त पर्यटक सङ्ख्या छैन’, उनले भने । ‘तर, क्रमिक रुपमा सुधार हुँदै गएको छ । स्वदेशीमात्रै हैन, विदेशी पर्यटक पनि आउन थालेका छन् ।’ कोरोना सङ्क्रमणका कारण सबै क्षेत्रको पर्यटन थला परेको थियो । पछिल्लो समय कोरोना सङ्क्रमण कम भएपछि नियमित जसो पर्यटकहरु आउँदा आफूहरुले काम पाइरहेको नेचर गाइड कुम ठाकुरले बताए । ‘अहिले खाली बस्नु परेको छैन’, उनले भने । ‘जेहोस नियमित काम पाइरहेका छौं ।’