सुदूरपश्चिममा कोरोना संक्रमणदर फेरि बढ्दै
2022/07/20, 12:39
 
corona

 सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर फेरि बढ्दै गएको छ । पछिल्लो केहि दिन यता संक्रमणकोदर बढ्न थालेको हो । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ ।

गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको संक्रमण मंगलबारमात्रै यस प्रदेशमा नौ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत शनिबार कोरोना संक्रमण शून्य रहेकोमा आइतबार तीन, सोमबार सात र मंगलबार नौ जनामा संक्रमण देखिएको हो । संक्रमण भारतबाट नेपाल भित्रिरहेका व्यक्तिमा देखिएको छ ।

मंगलबार गड्डाचौकी नाकामा सात र गौरीफन्टा नाकामा दुई जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ  । जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

जोखिम बढेकाले कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ।

पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा भइरहेको जनाइएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना संक्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५४ हजार ८८२ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ७६० जनामा संक्रमण भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।