विकास निर्माणको काममा नयाँ किरण छर्दै प्रकाश
2020/06/24, 1:55
 
prakash setty

विकास निर्माणका धेरै योजनाहरु समयमा सम्पन्न नहुने काम सकिन बर्षौ लाग्ने प्रवृति रहेको छ । योजना सम्पन्न गर्नका लागि ढिलासुस्ती र लापरवाही हुने गरेकोमा पछिल्लो समयमा केही योजनाहरुमा त्यसको सुधार हुन थालेको छ । तोकिएको समय अगाडी पनि विकास निर्माणका योजनाहरु सम्पन्न हुन थालेका छन् । निर्धारित समयभन्दा अगाडी काम सम्पन्न गर्ने क्रम वढ्दै गएको हो ।

सरकारले तोकिएकोभन्दा अघि नै काम सकेमा वोनस दिन थालेपछि कतिपय निर्माण व्यवसायीहरु तिव्रताका साथ काम गर्न थालेका हुन् । निर्माण व्यवसायीलाई विकास र समृद्धिका साझेदार मानिन्छ । विकास निर्माणसँग सम्वन्धित सवै कामहरु उनीहरुले गर्ने गरेका छन् । तर समयमै काम नभएर बर्षौसम्म योजनाहरुको कार्यान्वयन र समयमै काम नगर्दा यसले उनीहरुलाई हेर्ने दृष्टिकोण फरक भईरहेका वेला कतिपय निर्माण व्यवसायी त्यससलाई चिर्नतिर पनि लागिरहेका छन् । उनीहरुले योजना सम्पन्न गराउने समय सीमाभन्दा अगाडी नै काम सम्पन्न गरेर हस्तान्तरण गर्दै वोनस समेत पाईरहेका छन् । कैलाली निर्माण व्यवसायी प्रकाश सेठी यसमा सवैभन्दा अगाडी छन् । निर्माण व्यवसायी संघ कैलालीका निवर्तमान अध्यक्ष सेठी सवैभन्दा योजनाहरु निर्धारित समयभन्दा अगाडी सम्पन्न गर्नेमा सुदुरपश्चिम प्रदेशमै पहिलो स्थानमा छन् । 

निर्माण व्यवसायी सेठी समय अगाडी नै काम सम्पन्न गर्दै १३ औँ पटक सम्मानित भएका छन । उनले हात हालेका १३ वटा योजनालाई निर्माणका लागि तोकिएको मितिभन्दा पहिले नै सम्पन्न गर्दै विकास निर्माणको काममा नाम जस्तै काम गरिरहेका हुन् । पछिल्लो पटक उनले समय अघि नै सम्पन्न गरेको योजना हो सघन शहरी विकास कार्यक्रम अन्तरगत टीकापुर बसपार्कको निर्माणको काम । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाइ धनगढीको सघन शहरी विकास कार्यक्रम अन्तरगत टीकापुर बसपार्कको निर्माण सम्झौता अघि नै सकिएपछि सेठीलाई सम्मान भएको छ । राजेन्द्र रोयल जेभीका सञ्चालक सेठीले ठेक्का सम्झौता सकिन ७० दिन अघि नै बसपार्क निर्माणको काम सम्पन्न गरेपछि शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाईले प्रशंसा पत्र र बोनस सहित सम्मान गरेको हो ।  २०७५ साल माघ २ गते शहरी विकास आयोजना कार्यान्वयन इकाई र रोयल जेभीबीच २०७७ साउन २ गते भित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । तर निर्माण व्यवसायी सेठीले सम्झौता अवधि अगावै निर्माण सकेर बसपार्क हस्तान्तरण गरे । 

निर्माण व्यवसायी सेठी यस अघि निर्धारित समय अगावै काम सम्पन्न भएपछि १३ पटक सम्मानित र पुरस्कृत भईसकेका छन । उनले शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाईबाट नै कार्यान्वयन भएको कञ्चनपुरको त्रिभुवन बस्ती स्वास्थ्य चौकी भवन, कालिका स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अगाडी नै सम्पन्न गरेका थिए । यस्तै पुर्नवास नगरपालिका भवन, सुर्खेतको मेलकुना सिटी हल, उच्च सरकारी वकिलको कार्यालय भवन सुर्खेत, उच्च सरकारी वकिलकै कार्यालय भवन नेपालगञ्ज, सुर्खेतकै गुमी स्वास्थ्य चौकी भवन, सानीलेक स्वास्थ्य चौकी भवन, घाटगाउँ स्वास्थ्यचौकी भवन, दहचौर स्वास्थ्य चौकी भवन सुर्खेत र सुर्खेतकै रानीबास स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अवधि अगाडी नै सम्पन्न गरी सेठीले हस्तान्तरण गरेका थिए ।

समय अवधिभन्दा दुई सय दिन पहिले नै निर्माण सम्पन्न गरेमा १० प्रतिशत र दुई सय दिनपछि गरेमा ५ प्रतिशत वोनस सरकारले दिदै आएको छ । १३ योजनामध्ये दुई योजना मात्रै दुई सय दिन अघि सम्पन्न भएका हुन् भने ११ योजना दुई सय दिनपछि सकिएका हुन् । १३ वटा योजना समय अगाडी सकेपछि उनी १३ पटक सम्मानित भएका छन् । हाल सञ्चालनमा रहेका विभिन्न योजनाहरुलाई पनि जति सक्दो चाँडो सम्पन्न गराउने गरी काम गरिरहेको सेठी बताउँछन् । आफुले सक्ने जति काम लिने र समय गर्ने ईच्छा शक्ती भए काम गर्न समस्या नहुने उनको ठहर छ । विकास निर्माणका काममा ढिलासुस्ती र लापरवाहीका कारण समयमै काम सम्पन्न नहुने परिपाटीमा निर्माण व्यवसायी सेठीले समयभन्दा अगाडी नै काम सिद्धाएर उदाहरणीय नमुना दिईरहेका छन् । सरकारले निर्धारित समयभन्दा अगाडी काम सम्पन्न गरेमा पुरस्कार स्वरुप वोनस दिन थालेपछि निर्माण व्यवसायीहरु अझ उत्साहित भएका छन् । सेठी निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विकास निर्माणका आयोजनाको काम समयमै सम्पन्न नहुने प्रवृत्तिलाई चिर्न आफूले सबैजसो योजनामा तिव्र रुपमा काम गर्दै आएको बताए । 

२०५८ सालदेखि निर्माणको काम थालेका सेठीले सुरुवातमा सानो तिनो काम थाले । विस्तारै कामको गुणस्तरमा उनले गरेको कामले प्रशंसा पायो । उनी विस्तारै सफल निर्माण व्यवसायीको बाटोमा अग्रसर भए । २०७३ सालमा उनले क समुहको लाईसेन्स पाए । त्यसपछि उनले करौडौंका कामहरु पनि गर्दै आएका छन् । पछिल्ला बर्षहरुमा उनले गरिरहेका कामहरुले उनलाई अरुभन्दा फरक निर्माण व्यवसायीको रुपमा चिनाएको छ । विकासका काम गर्नका लागि दिईएको पेस्कीको सही सदुपयोग गरेमा समयमै काम गर्न कुनै समस्या छैन । पेस्की रकम दुरुपयोग गरेमा मात्रै काम गर्न समस्या हुने नत्र केही फरक नपर्ने उनी बताउँछन् । निर्माण व्यवसायीले ईमान्दार भएमा काम गर्न कुनै समस्या नहुने उनको तर्क छ । उनी अरुलाई पनि समयमै काम सम्पन्न गर्न सुझाव दिन्छन् ।