प्रधानमन्त्री देउवालाई व्यक्तिगत खर्चमा मात्रै डडेल्धुरा जान आयोगको स्वीकृति
2022/11/02, 1:34
 
प्रधानमन्त्री देउवालाई व्यक्तिगत खर्चमा मात्रै डडेल्धुरा जान आयोगको स्वीकृति

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेर डडेल्धुरा जान स्वीकृति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेको थियो । 

सो पत्रमाथि निर्णय गर्दै आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत साधनको प्रयोग नगरी जान स्वीकृति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए ।  उनले भने– ‘प्रधानमन्त्री देउवालाई डडेल्धुरा जान रोक लगाइएको होइन । सरकारी स्रोत साधन प्रयोग नगरी र आचारसंहिता उल्लंघन नहुनेगरी चुनाव प्रचारका लागि जान अनुमति दिइएको हो ।’

आयोगले सोही अनुसारको पत्र प्रधानमन्त्री देउवालाई पठाएको छ । आयोगको सो निर्णयपछि प्रधानमन्त्री देउवा सरकारी स्रोत साधन प्रयोग नगरी मात्र डडेल्धुरा जान पाउने भएका छन् ।