गौरीगङ्गाका जनप्रतिनिधिको पहलमा सामाजिक सुरक्षा भत्ता वडामै दिन थालियो, स्थानीय खुसी
2022/11/13, 4:18
 
गौरीगङ्गाका जनप्रतिनिधिको पहलमा सामाजिक सुरक्षा भत्ता वडामै दिन थालियो, स्थायी सुखी 

धनगढी - कैलालीको गौरीगंगा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै हस्तान्तरण गर्न थालिएको छ । यस अघि नगरपालिका पुग्नुपर्ने बाध्यता रहकोमा अब वडा कार्यालयबाटै वितरण थालिएको हो । एन.आई.सी. एसिया बैङ्कले भत्ता वितरणका लागि शिविर सञ्चालन गरेको छ । 

नगरका जनप्रतिनिधिको समन्वयमा बैङ्कले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् । वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैङ्कमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरूले बताएका छन् । 

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई बैङ्कमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको एन.आई.सी. एसिया बैङ्कका सुदूरपश्चिम प्रमुख सुवास जोशीले बताए । उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरूलाई थप खुसी मिलेको बताए ।

वडा नं. ६ को वडा कार्यालयबाट आइतबारदेखि सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमबाट जम्मा २ हजार १ सय लाभग्राही लाभान्वित भएका गौरीगंगा नगरपालिकाका प्रमुख देवी दत्त कँडेलले जानकारी दिए । 

अब उप्रान्त गौरीगंगा नगरपालिकाको, वडा नं. १, २ र ६ को सम्पूर्ण सामाजिक सुरक्षा भत्ता वडा स्तर बाटै बाँडिने बैङ्कका चौमाला शाखा प्रमुख माधव प्रसाद जोशीले जानकारी दिएका छन् ।