जसले गाउँपालिका उपाध्यक्ष भएपछि छाउ बार्न छाडिन्
2022/12/12, 12:45
 
dd

आइतबार दिउँसो रातो कुर्ता सुरुवाल, कालो लेदरको ज्याकेट लगाएर रमला कुमारी मण्डेल पुजारा प्रज्ञा भवनमा भित्र–बाहिर गरिराखेकी थिइन्। योसमेत काठमाडौंमा दुई पटक पाइला टेकेकी उनी यहाँको भूगोलबारे खासै जानकार छैनन्। प्रज्ञा भवनमा उनी उनका श्रीमानले छोडिदिएका थिए।

कमलादास्थित प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएकी उनी बझाङको सुर्मा गाउँपालिकाकी उपाध्यक्ष हुन्। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी उनले २ हजार ११३ मत ल्याएकी थिइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मातादेवी बोहराले २ हजार ३ मत ल्याइन्।

२५ वर्षमै गाउँपालिका उपाध्यक्ष
२०५४ सालमा छबिसपाथीभेरा गाउँपालिकाको मण्डी जन्मिएकी रमला २५ वर्ष पूरा भइन्। सानैमा बुवा गुमाएकी उनले जसोतसो दश कक्षासम्मको शिक्षा पूरा गरिन्। आयआर्जनको माध्यम भनेको खेतिपाति बाहेक केही छैन।

सुर्माका मोहन पुजारासँग उनको प्रेम भयो। पछि १५ वर्षकै उमेरमा भागेर विवाह गरिन्। मोहन सुर्मामा रहेको सुर्मा उच्च माध्यामिक विद्यालयमा पढाउँछन्। उनका दुई छोरी र एक छोरा छन्। तीन वर्षीय छोरालाई घरमा सासुससुराको जिम्मा लगाएर उनी काठमाडौं आएकी हुन्। उनीसँगै श्रीमान मोहन पनि आएका छन्। विद्यालयमा विदा मागेर आएको उनी बताउँछन्।

रमलाको दम्पत्ति शनिबार मात्र काठमाडौं पुगेको हो। आइतबार बिहान श्रीमानले प्रज्ञामा छोडेर सुन्धारा फर्किए। उनलाई यो कार्यक्रमको बारेमा धेरै जानकारी भने छैन।  चिठी आयो। श्रीमानले काठमाडौं जाने भने। उनी साथमा आइन्। 

गाउँमा सबै कांग्रेस भएपछि उपाध्यक्षको टिकट
रमलालाई राजनीतिमा खास कुनै चासो थिएन। कुनै पनि संघ संगठनमा थिइनन्। तीन सन्तानका आमी उनी घरव्यवहारमा बालबच्चाको स्याहारमै सीमित थिइन्। खेतिपाती र घरको काम नै दिनचर्या बनेको थियो।  तर, २०७४ को स्थानीय तहको निर्वाचनको उनको नाम गाउँपालिका उपाध्यक्षका लागि चर्चामा आयो। उनका श्रीमान नेपाली कांग्रेससँग आवद्ध थिए। श्रीमानको बलले उनको नाम पनि आयो। तर, त्यो बेला उनी २१ वर्ष पुग्न दुई महिना बाँकी थियो। ‘त्यो बेला उमेर नपुगेर मैले टिकट पाइनँ’, उनी भन्छिन्।

उनको परिवार र गाउँ कांग्रेसको पकड भएको क्षेत्र हो। अघिल्लो निर्वाचनमा उनकी देउरानी सुनिता पुजारा उपाध्यक्ष बनिन्। पहिलो पटक नै चर्चामा आएकी रमला २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भइन्।

उपाध्यक्ष बनेपछि छाउ बार्न छोडिन्
रमला पहिले हरेक महिना पाँच दिन छाउ रजस्वला बार्थिन। सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथा जरा गाडेर बसेको छ। जसको शिकार उनी पनि हुन्। छाउगोठमा बस्नुपर्ने बाध्यता भने अब हटेको छ। जब गाउँपालिकाको उपाध्यक्ष बनिन्, बाहिर बस्न छोडिन्। 

उनी भन्छिन्, ‘छाउ बार्नु हुन्न भनेर जनतालाई भन्नुपर्छ। म आफै कसरी बार्नुर ?’

काठमाडौं आउन श्रीमानको साथ
रमला अहिलेसम्म कतै एक्लो गएकी छैनन्। स्थानीय निर्वाचनपछि उनी पहिलो पटक काठमाडौं आएकी थिइन्। जतिबेला नेपाली कांग्रेसले आफ्नो पार्टीबाट जितेका स्थानीय जनप्रतिनिधिलाई बोलाएको थियो। त्यो बेला पनि जिल्लाका अन्य जनप्रतिनिधिको साथमा श्रीमान मोहनले उनलाई काठमाडौं पठाएका थिए। अहिले आफू नै साथमा आएका छन्।

‘मलाई केही थाहा हुँदैन। सबै श्रीमानले नै हो गरिदिने’, उनी भन्छिन्। अहिले कामठाडौंमा पनि कता जाने, कसलाई भेट्न सबै व्यवस्थापन श्रीमानले नै गरिरहेको उनी बताउँछिन्।

‘काम गर्न मन छ तर थाहा छैन’
सुर्मा गाउँपालिका बझाङ्गको उत्तरी सिमानामा पर्छ। यहाँ बाटोघाटो, स्वास्थ्य, शिक्षा, बेरोजगारी र गरिबीको समस्या छ। परिवार पाल्न भारत जानुपर्ने बाध्यता छ मानिसहरुलाई।  गाउँपालिका अध्यक्ष खडक बोहरा छन्। उनी पनि कांग्रेसबाटै निर्वाचित हुन्।  रमला अहिलेसम्म सार्वजनिक मञ्चमा कतै नबोलेको बताउँछिन्। कार्यक्रममा सहभागी हुन्छिन्, ताली बजाउँछिन्, फर्किन्छन्। 

गाउँपालिकामा हुने बैठकमा सहभागी हुन्छिन्। तर, के भइराखेको छ भन्ने केही मेसो नपाउने उनी बताउँछिन्। निर्णय सबै अध्यक्षले गर्ने गरेको उनले बताइन्।  ‘जनताले भोट दिएर जिताए। त्यसैले केही काम गर्न मन छ। तर, के कसरी गर्ने थाहा छैन’, रमला भन्छिन्।

महिलाहरुका लागि काम गर्न मन छ उनलाई। बाल विवाह र छाउपडी प्रथाको अन्त्यका लागि काम गर्न मन रहेको उनी बताउँछिन्। ‘छाउपडी प्रथाका विरुद्धमा जनचेतनाको काम गर्न मन छ,’ उनले भनिन्।