सुदुरपश्चिममा आधा असारसम्म आधा रोपाई सकियो 
2020/06/29, 7:36
 
ropai

सुदूरपश्चिम प्रदेशमा असारको आधा हुँदा झण्डै धानखेती हुने आधा भुभागमा रोपाई सकिएको छ । समयमै मनसुय भित्रिएपछि असारको दुई सातासम्म ५० प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको हो । सुदुरपश्चिमको ९ जिल्लामा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । हालसम्म ९० हजार एक सय ५७ हेक्टर अर्थात ४९.६४ प्रतिशत क्षेत्रफलमा रोपाई सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ ।

‘अघिल्लो बर्षको असार १५ गतेसम्म २२ प्रतिशत मात्रै रोपाई भएको थियो । यसपाली समयमै पानी परेपछि किसानहरुलाई राहत भएको छ । आकासे पानीको भरमा रोपाई हुने ठाउँहरुमा पनि रोपाई भएको छ ।’ कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने–‘यो बर्ष भने असारको १५ गतेसम्म ५० प्रतिशत रोपाई भईसकेको छ । यसपाली चाडो रोपाई सुरु भएकोले पनि सहज भएको हो । सिंचाई सुविधा पनि विस्तार भएकोले किसानहरुलाई आकासे पानीको भर पर्नुपर्ने खेत पनि कम हुदै गएको छ ।’
सुदुरपश्चिम प्रदेशका ९ जिल्लामध्ये सवैभन्दा कम रोपाई भने डोटीमा भएको छ । सबैभन्दा वढी रोपाई भने पहाडी जिल्ला अछाममा भएको छ । असार पहिलो सातासम्म भने बाजुरामा सवैभन्दा वढी रोपाई गरिएको तथ्यांक थियो ।

धानका लागि उर्वरभुमी मानिने कैलाली र कञ्चनपुरमा असार दोस्रो सातामा आधा क्षेत्रफलमा रोपाई सकिएको छ । असारको पहिलो साता कञ्चनपुरमा सवैभन्दा कम १५ प्रतिशत मात्रै रोपाई भएको थियो भने कैलालीमा १७ प्रतिशत रोपाई भएको गरिएको थियो । अछाममा  १६ हजार पाच सय ८० हेक्टरमा धान रोपाइ गरिदै आएकोमा नौ हजार नौ सय ४८ हेक्टरमा रोपाई भएको छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाई हु“दै आएकोमा तीन हजार आठ सय १४ हेक्टरमा रोपाइ भएको जनाइएको छ ।

धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ४७ दशमलब ४९ प्रतिशत र कञ्चनपुरमा ५२ दशमलब ९७ प्रतिशतमा धान रोपाइ भएको जनाइएको छ । कैलालीमा ७१ ह्जार सात सय १५ हेक्टरमा धान रोपाइ हुदै आएकोमा ३४ हजार ५७ हेक्टरमा रोपाइ भएको छ भने कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुदै आएकोमा २५ हजार छ सय २४ हेक्टरमा रोपाइ भएको छ मन्त्रालयले जनाएको छ । प्रदेशको डडेल्धुरा र दार्चुलामा पनि ५० प्रतिशतभन्दा कम रोपाई भएको जनाइएको छ ।

मन्त्रालयले दिएको तथ्यांक अनुसार डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान रोपाई हुदै आएकोमा दुई हजार चार सय ९० हेक्टर र दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुदै आएकोमा दुई हजार १६ हेक्टरमा रोपाई भएको जनाइएको छ । मन्त्रालयका अनुसार प्रदेशको बाजुरामा ५५, बझाङमा ५० र बतडीमा ५२ प्रतिशतमा रोपाइ भइसकेको छ ।

बाजुरामा सात हजार दुई २० हेक्टरमा धान रोपाई हुदै आएकोमा तीन हजार नौ सय ७१ हेक्टरमा रोपाई भइसकेको छ । बझाङमा सात हजार एक सय १० हेक्टरमा धान रोपाई हुदै आएकोमा तीन हजार पाच सय ५५ हेक्टरमा रोपाई भइसकेको छ भने बैतडीमा नौ हजार हेक्टरमा धान रोपाई हुदै आएकोमा चार हजार छ सय ८० हेक्टरमा रोपाई भइसकेको जनाइएको छ । यसपाली मनसुन चाडो भित्रिएका कारण रोपाई पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ ।

धानखेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीको भनाई छ । अवश्य पनि यसपाली समयमै रोपाई सकिन्छ । यसले उत्पादन बढ्छ । तर, यसपछि के हुन्छ भन्न सकिदैन’ उनले भने– अघिल्लो बर्षभन्दा पहिले नै धेरै रोपाई भईसकेको छ । यो कृषि क्षेत्रका लागि सकारात्मक हो । यसले उत्पादनमा वृद्धि गराउन मदत मिल्छ ।’