धनगढी - नेपालमा कुष्ठरोग निवारण घोषणा भए पनि सुदूरपश्चिम प्रदेशमा बर्सेनि नयाँ बिरामी पहिचान हुने क्रम जारी छ। नेपालमा विक्रम सम्बत २०६६ माघ ५ मा राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा भएको थियो।
निवारण भन्नाले प्रति १० हजार जनसंख्यामा १ भन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ। निवारणको घोषणापछि हालसम्म पनि प्रदेशस्तरमा निवारणको अवस्था कायम रहेको छ।
आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार हाल प्रदेशका दुई जिल्लामा कुष्ठरोग निवारण नभएको स्थिति छ। सरकारले सन् २०३० को अन्त्यसम्म सम्पूर्ण जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ। प्रदेशको कैलाली र अछाममा कुष्ठरोग प्रकोप दर १ प्रतिशतभन्दा बढी रहेको छ।
सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा नै बर्सेनि नयाँ कुष्ठरोगी पहिचान हुने क्रम जारी रहेको छ। प्रदेशमा वर्षेनी दुई सयदेखि तीन सय जना नयाँ कुष्ठरोगीहरूको पहिचान भइरहेको तथ्यांकले देखएको छ।
सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षको छ महिनामा ७२ नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन्। आर्थिक वर्ष २०७९/०८० मा ४२ पुरुष र ३० महिला गरि ७२ जना नयाँ बिरामी पहिचान भएको स्वास्थ्य निर्देशनालयले दीपायलले जनाएको छ। आर्थिक वर्ष २०७८/०७९ मा यसअवधिमा प्रदेशमा ८६ जना नयाँ कुष्ठरोगीहरू फेला परेका थिए।
चालू आर्थिक वर्षको छ महिनामा बढी सर्ने रोगका बिरामी थपिएका छन्। आर्थिक वर्ष ०७९/०८० मा ६४ जना बढी सर्ने, आठ जना कम सर्ने बिरामी फेला परेका छन् भने चार जना बच्चामा कुष्ठरोग पहिचान भएको छ। कुष्ठरोगबाट चालू आर्थिक वर्षमा सात जनामा अपांगताको समस्या हुनसक्ने बिरामी पहिचान गरिएको छ।
आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म नयाँ बिरामी फेला परेकामध्ये ४९ जना महिला रहेका थिए भने चार जनामा पुनः रोग बल्झिएको तथ्यांकमा उल्लेख थियो। स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा ११ जनामा विभिन्न किसिमका शारीरिक अपांगतासम्बन्धी समस्या देखिएको छ।
प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा एक सय ३७, आर्थिक वर्ष २०७७/०७८ मा दुई सय आठ र आर्थिक वर्ष २०७८/०७९ मा दुई सय पाँच नयाँ बिरामी पहिचान भएको थियो।
पहाडी ६ जिल्लाका बिरामीलाई उपचार गराउन समस्या
सुदूरपश्चिम प्रदेशका ६ वटा पहाडी जिल्लामा कुष्ठरोगका नयाँ बिरामी बर्सेनि पहिचान भइरहेका छन्। पहाडका ६ जिल्लाका बिरामीहरुलाई उपचारमा ल्याउन नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
‘प्रदेशको कैलाली र अछाममा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ भने पहाडी छ जिल्लामा समयमै कुष्ठरोगका बिरामीहरुलाई उपचारमा ल्याउन सकिएको छैन्,’ निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले भने, ‘ढिला उपचारमा आएका बिरामीहरुमा अपांगता हुनसक्ने, लामो समय औषधि खानुपर्ने तथा विभिन्न खालको जटिलता आउने र समुदायमा रोग अरु व्यक्तिहरुलाई सरिरहने सम्भावना रहन्छ।’
स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कैलाली र अछाममा प्रति दश हजारमा एक प्रतिशतभन्दा बढी बिरामी रहेका छन्। यस प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा प्रति दश हजारमा शून्य दशमलब ९३ बिरामी उपचारमा रहेका थिए भने कैलालीमा एक दशमलब ४९ र अछाममा एक दशमलब ९१ बिरामी उपचारमा रहेका थिए। अन्य सात जिल्लामा एक भन्दा कम रहेको थियो।
निर्देशनालयका अनुसार प्रदेशमा बिरामी पहिचान दर कैलाली, अछाम र कञ्चनपुरमा सन्तोषजनक रहेको छ। प्रदेशमा प्रति लाखमा बिरामी पहिचान दर सात दशमलब ५४ रहेकोमा कैलालीमा १४ दशमलब ३४, अछाममा १० दशमलब ८५ र कञ्चनपुरमा छ दशमलब १७ रहेको छ। अन्य छ जिल्लामा पहिचान दर शन्य देखि ३ सम्म रहेको छ।
कैलालीका ६ स्थानीय तहमा निवारण हुन सकेन
१३ वटा स्थानीय तह रहेको कैलालीका ६ स्थानीय तहमा कुष्ठरोग निवारण हुन सकेको छैन। कैलाली स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा प्रति दश हजारमा एक दशमलब ४९ बिरामी उपचारत छन्।
त्यसमध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिका प्रति दश हजारमा तीन दशमलब ९७ रहका छन्। उपमहानगरपालिकामा बिरामी पहिचान दर प्रति लाखमा ३५ दशमलब ९७ रहेको छ।
यस्तै लम्की चुहा नगरपालिकामा प्रति दश हजारमा एक दशमलब ८५, जानकी गाउँपालिकामा एक दशमलब २०, कैलारी गाउँपालिकामा एक दशमलब १९ र जोशीपुर गाउँपालिकामा एक दशमलब सात रहेको छ। जिल्लाको मोहन्याल गाउँपालिकामा प्रति दश हजारमा शून्य विरामी उपचारमा रहेको कार्यालयको तथ्यांक रहेको छ भने अन्यमा एक भन्दा कम रहेको छ।
समाजमा अझै पनि कुष्ठरोगीप्रति गरिने अपहेलना तथा विभेदको व्यवहार र सोचका कारण कुष्ठरोगको लक्षण देखा परे पनि बिरामीहरू उपचारका लागि आउन संकोच मान्ने गरेको पाइन्छ।
उपचार गरेमा कुष्ठरोग निको हुन्छ र अंगभंग हुनबाट जोगिन्छ भन्ने जानकारीको कमीका कारण अझै पनि स्वास्थ्यकर्मीले खोजपडताल गरेर बिरामी पत्ता लगाएर उपचार प्रक्रियामा ल्याउनुपर्ने अवस्था रहेको प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशी बताउँछन्।
निर्देशक डाक्टर जोशीले शरीरमा जुनसुकै रंगको नदुख्ने र नचिलाउने तथा लाटो दाग देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल गएर उपचार गराउन आग्रह गरे। उनले कुष्ठरोग लागेको सुरुवाती चरणमा उपचार गराएमा शरीरमा अंगभंग हुनबाट जोगिने बताए। ढिलो गरी उपचार गराउँदा रोग निको भएपछि शरीरमा भएको क्षति घटाउन सकिने उनको भनाइ छ।
तथ्यांक अनुसार ढिलो गरी कुष्ठरोगको उपचार गराउन आएका कारण नेपालमा ३० हजार बढी नेपालीहरू अपांग भएका छन्। देशका विभिन्न जिल्लामा कुष्ठरोगीको संख्या बढ्दै गएपछि नेपाल सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको थियो। सन् २०२२ पूरा भइ २०२३ लाग्दासमेत प्रदेशमा झन कुष्ठरोगीहरूको संख्यामा सुधार हुन सकेको छैन।
‘संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव छ। तीन तहका सरकारले कुष्ठरोग निवारणका लागि विशेष अभियानको थालनी गर्नुपर्ने हुन्छ,’ कुष्ठरोग क्षेत्रमा काम गरिरहेका नेदरल्याण्ड लेप्रोसि रिलिफ (एनएलआर) नेपालका सुदूरपश्चिम प्रदेश फिल्ड संयोजक मुकेश पन्तले भने, ‘समाजमा लुकेर बसेका कुष्ठरोगीहरू उपचारमा आइरहेका छैनन्। हामीले शंकास्पद रहेका व्यक्तिहरूलाई नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन सल्लाह दिइरहेका हुन्छौं। तर, अर्कोपल्ट सम्पर्क गर्न खोज्दा सम्पर्कविहीन हुन्छन्।’