कैलाली कञ्चनपुरमा कृषि उपकरण अनुदानमा मनोमानी, मापदण्ड बिना पहुँचको भरमा वितरण
2020/06/29, 9:04
 
krishi anudan

कैलाली र कञ्चनपुरमा अनुदानमा उपकरण वितरणमा मनोमानी भएको छ । अनुदानका लागि हचुवाको भरमा कृषक छनौट गरेको पाईएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले हचुवाको भरमा मुल्यांकन गरि आवेदक छनोट गरेको जनाएको जानकारी दिएको छ । कृषि अनुदानमा अनियमितता भएको उजुरीपछि कृषि ज्ञान केन्द्र पुगेको अख्तियारको टोलीले प्रारम्भिक अनुसन्धानमा हचुवाको भरमा आवेदक अर्थात किसान छनोट गरेको फेला पारेको छ । 

प्रदेश कृषि निर्देशनालयको कृषि उपकरण अनुदान कार्यक्रमका लागि ६ हजार ८३ जनाले आवेदन दिएकोमा तीन सय ४७ आवेदक छनोट भएका थिए । अनुदान दिनका लागि स्थलगत अध्ययन, गरिरहेको काम केही पनि नहेरेर अनुदान दिने काम भईरहेको पाईएपछि अख्तियारले सोमवार छापा हान्दै कागजात नियन्त्रणमा लिएको थियो । प्रारम्भीक अनुसन्धानमा अनुदान वितरणमा मनोमानी भईरहेको पाईएको अख्तियार कञ्चनपुरका निमित्त प्रमुख महेश पाण्डेयले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा कृषि तर्फ ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण गर्ने तयारी छ । सुदूरपश्चिम सरकारको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालय डोटीले आर्थिक बर्षको अन्त्यमा हतार–हतारमा कृषि उपकरण वितरण गर्ने तयारी थालेको छ । ५ करोडका कृषि उपकरण अनुदानमा वितरणका लागि निर्देशनालयले ५ महिना अघिदेखि नै प्रक्रिया अगाडी बढाएको थियो । उपकरण खरिदका लागि आपूर्तिकर्ता छनोट गर्न झण्डै तीन महिना लगाएको निर्देशनालयले किसानहरु छनोटमा भने ढिलाई गरेको छ ।

कृषि निर्देशनालयले माघ २० गते कृषि अनुदानको लागि आपुर्तिकर्ताबाट सिलवन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना प्रकाशन गरेको थियो । १० आपूर्तिकर्ताले बोलपत्र दर्ता गराएकोमा ४ वटा आपूर्तिकर्तालाई छनोट गरीएको कृषि निर्देशनलय डोटीका सूचना अधिकारी टेकवहादुर विष्टले भने,जानकारी दिए । १० करोडका २२ प्रकारका उपकरण खरिदका लागि टेण्डर भएकोमा ५ करोड कृषि निर्देशनालय र बाँकी ५ करोड किसानहरुले तिर्ने छन् । कृषि यन्त्र र उपकरण आपूर्तिको जिम्मा पाएका चार वटा सप्लायर्सले टेण्डर आह्वान भएपछि छनोट नहुँदै कृषि निर्देशनालयले मागेका उपकरण खरिद गरिसकेका थिए । यस्ले टेण्डरमा पनि मिलोमतोको आशंका गरिएको छ ।