बैतडीमा जीवन बुडाल मृत्यु प्रकरणः १२ जना नियन्त्रणमा, आफन्तले बुझेनन् शव
2023/02/28, 11:37
 
बैतडीमा जीवन बुडाल मृत्यु प्रकरणः १२ जना नियन्त्रणमा, आफन्तले बुझेनन् शव

बैतडी - बैतडीमा शनिबार राति मृत फेला परेका २५ बर्षीय जीवन बुडालको शव परिवारले बुझ्न मानेका छैनन्। बैतडी दशरथचन्द नगरपालिका १० खडेनीका २५ बर्षीय बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव बुझ्न नमानेका हुन्।

शनिबार पिकनिक मनाउन बुडालसहितअन्य १२ जना साथीहरुसंगै दशरथचन्द नगरपालिका ६ सेरा गएका बुडाल राति मृत अवस्थामा फेला परेका थिए। मृतक बुडालको शव पोष्टमार्टम गरिएर अस्पतालमै राखिएको छ। परिवारजनले बुडालसंगै पिकनिक खान गएका १२ जनाको नाममा किटानी जाहेरी दिएको छ। जाहेरी पछि १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

पिकनिक खान गएका ११ जना र गाडी चालकसहित १२ जनामाथि अनुसन्धानका लागि किटानी जाहेरी दिएको मृतकका दाजु गोविन्द बुडालले बताए । उनीहरुमाथि ज्यान सम्बन्धि कसुरको जाहेरी दर्ता भएको छ। राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेका मृतक जीवन बुडाल विदामा घर आएका बेला शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक मनाउने भन्दै ११ जना साथीसँग म १ ज २२२ नं।को जिपमा दशरथचन्द नगरपालिका–६, शेरा गएका थिए । पिडीत घरपरिवारले निस्पक्ष छानबिनको माग राखेका छन् ।