कञ्चनपुरका नक्कली डाक्टर जैशी: दुई प्रेमिकाको विष खुवाएर हत्या, नर्सदेखी अधिवक्तासम्म ठगिए
2023/06/26, 1:43
 
कञ्चनपुरका नक्कली डाक्टर जैशी: दुई प्रेमिकाको विष खुवाएर हत्या, नर्सदेखी अधिवक्तासम्म ठगिए

कञ्चनपुर - चिकित्सकको आवरणमा कञ्चनपुर परासन– ७ का २७ वर्षीय मातृकाप्रसाद जैसीले नर्सदेखि सेनाका उच्च अधिकृतलाई समेत ठगी गरेको खुलेको छ । त्यति मात्र होइन, उनको फन्दामा अधिवक्ता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीसमेत परेका छन् ।

प्रहरीका अनुसार उनले ललितपुर झम्सीखेलमा छाला रोगसम्बन्धी क्लिनिक चलाउने नर्ससँग ७८ लाख रुपैयाँ ठगी गरेका थिए । युवतीलाई जैसीले प्रेमजालमा फसाएका थिए । करिब १८ महिना प्रेमको नाटक गरेका उनले युवतीकै आर्थिक सहयोगमा ४० लाख रुपैयाँको कार खरिद गरेका थिए । बाँकी ३८ लाख रुपैयाँ भने उनले घर खर्च भन्दै लिएका थिए ।

जैसीको गफमा परेकी युवती विवाह गर्ने मनस्थितिमा पुगेकी थिइन् । गत १८ वैशाखमा दुईबीच विवाहको मिति तय भएको थियो । परिवारका सदस्यसँग भेट भएपछि मात्रै जैसी चिकित्सक नभएको खुलेको थियो । प्रहरीका अनुसार जैसीले नेपाली सेनामा कार्यरत प्रमुख सेनानी (कर्नेल) की श्रीमतीलाई पनि त्यसै गरी ठगेका थिए ।उनले कर्नेलकी श्रीमतीसँग एक करोड २५ लाख रुपैयाँ लिएका थिए । उनीसँग जग्गाको कारोबार गर्ने भन्दै रकम असुल गरेका थिए ।

त्यसपछि उनी बेपत्ता भएका थिए ।जैसीले विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीसँग २५ तोला सुन ठगी गरेका छन् । त्यस्तै, उनले एक परिचित अधिवक्तालाई पनि ठग्न भ्याएको खुलेको छ । घरमा आमाको उपचार गर्न भन्दै उनले अधिवक्तासँग साढे दुई लाख रुपैयाँ फुत्काएका थिए । त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए । अध्यागमन कार्यालयका कर्मचारीबाहेक ठगी परेका तीनैजना पीडितले जैसीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंका जाहेरी दिएका छन् । जैसीलाई पक्राउ गरेर डिएसपी भरत शाहको नेतृत्वमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरी भन्छ– पाइलैपिच्छे ठगी
काठमाडौं परिसरका प्रवक्ता एसपी सीताराम रिजालले चिकित्सकको आवरणमा जैसीले नर्सदेखि अधिवक्तासम्मलाई ठगी गरेको बताए । ‘एकजना नक्कली चिकित्सक पक्राउ परेका छन् । उनले नर्सदेखि अधिवक्तालाई समेत ठगेको अनुसन्धानबाट खुलेको छ । उनले नेपाली सेनामा कार्यरत एक उच्च अधिकृतकी श्रीमतीलाई पनि ठगेको अनुसन्धानबाट खुलेको छ,’ एसपी रिजालले भने, ‘त्यसबाहेक अन्यलाई पनि ठगेका गुनासो हामी कहाँ आएको छ । तर, उनीहरूको जाहेरी भने आइसकेको छैन ।’

प्रहरीका अनुसार जैसीले ठगी गर्न नेपाल मेडिकल कलेज नेपालगन्जको लोगोअंकित विशेष कार्ड बनाएका थिए । डिजिटल कार्डमा उनको फोटो छ । फोटोको ठीक तल कार्ड नंं. २१५ लेखिएको छ । कार्डको पुछारमा ‘गाइनोकोलोजिस्ट’ उल्लेख छ । सोही कार्ड प्रयोग गरी उनले आफूलाई ‘गाइनोकोलोजिस्ट’ र वीर अस्पतालको १२औँ तहमा कार्यरत चिकित्सक बताउने गरेका थिए । प्रहरीका अनुसार उनले आफू थापाथलीस्थित नर्भिक अस्पतालको ‘भिजिटर’ चिकित्सकसमेत रहेको भनी गफ दिने गरेका थिए ।

विश्वास दिलाउन उनले चिकित्सकले प्रयोग गर्ने सेतो एप्रोन र स्टेथोस्कोप भिर्न बिर्संदैन थिए । सामाजिक सञ्जालमा पनि उनले एप्रोन र स्टेथोस्कोप लगाएका फोटो राख्ने गरेका थिए ।आइएस्सी (इन्टरमिडियट इन साइन्स) सम्म अध्ययन गरेका उनले भेट हुने नर्स तथा चिकित्सिकसँग ‘मेडिकल टर्मिनोलोजी’ प्रयोग गर्दै राम्रैसँग गफ दिने गरेका थिए । विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सकको नामावली पनि उनी फटाफट बताइदिन्थे । जसमध्ये केहीलाई उनी आफूभन्दा ‘सिनियर’ भन्थे भने अधिकांशलाई ‘जुनियर’ भएको बताउँथे ।

वीर अस्पतालको लोगो र सरकारी नम्बर प्लटको दुरुपयोग- आफू वीर अस्पतालमा कार्यरत रहेको विश्वास दिलाउन उनले अस्पतालको लोगोअंकित कार्ड बनाएका थिए । कार्ड झुन्ड्याउन वीर अस्पताल लेखिएको फित्ता प्रयोग गर्ने गरेका थिए भने भिजिटिङ कार्ड पनि बनाएका थिए । कार्डमा वीर अस्पतालको लोगो अंकित थियो ।

प्रहरीले अनुसन्धानका क्रममा उनले सरकारी नम्बर प्लेटको गाडी चढ्ने गरेको पाएको छ । प्रहरीका अनुसार संगतमा आउने अन्यलाई पनि उनले सोही गाडीमा सँगै ल्याउने र वीर अस्पतालको गेटसम्म पु¥याएर बाहिर छाड्ने गरेका थिए । त्यसपछि उनी सोही गाडीमा अस्पतालको पार्किङमा जाने गरेका थिए ।

प्रहरीका अनुसार उनले प्रेमजालमा पारेकी युवतीलाई समेत धेरैपटक सरकारी नम्बर प्लेटको गाडीमा ल्याएर वीर अस्पतालको गेटमा छाडेका थिए । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रिजालले भने, ‘चिकित्सक भएको भन्दै युवतीलाई प्रेमजालमा फसाएको देखिन्छ । उनकै जाहेरीपछि जैसीलाई पक्राउ गरिएको हो । त्यसपछि उनको थप कर्तुत खुलेका हुन् ।’

पुण्यप्रसादबाट यसरी भए मातृकाप्रसाद- कञ्चनपुरका जैसी धनगढीमा आइएस्सी अध्ययन गर्दै थिए । त्यही क्रममा उनले दुई युवतीलाई प्रेमजालमा पारे । दुवैलाई विवाह गर्ने प्रलोभन दिएका थिए । तर, पछि उनको पोल खुल्यो । दुवैतर्फको तनावपछि उनको दिमागमा आइडिया फु¥यो– दुवै युवतीलाई सफाया गर्ने । उनले दुवै युवतीसँग फरक–फरक ठाउँमा भेट गरे र एकैपटक आत्महत्या गर्ने भन्दै ‘कन्भिन्स’ गरे । युवतीहरू जैसीको प्रस्तावमा ‘कन्भिन्स’ भए । उनले दुवैलाई एकै ठाउँ जम्मा गरे । तीनवटा गिलासमा पानी भरे । उनीहरूले थाहा नपाउने गरी दुईवटामा विष हाले । विष भएको गिलास युवतीलाई दिए र विष नभएको आफैँले राखे ।

तीनैजनाले एकैपटक पानी पिए । विष भएको पानी पिएका दुवै युवतीको मृत्यु भयो । उनलाई केही भएन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेपछि जैसी पक्राउ परे । २४ मा ०७० मा जिल्ला अदालत कैलालीले उनलाई ६ वर्ष कैद सजायको फैसला ग¥यो । त्यसवेला उनको नाम पुण्यप्रसाद जैसी थियो । बुबाको नाम बलराम जैसी थियो । उनी जब जेलबाट निस्किए, उनले आफ्नो परिचय बदले । र, मातृकाप्रसाद जैसी भए ।परिचय बदल्न उनले नागरिकतासमेत दुईवटा बनाएको प्रहरीले आशंका गरेको छ । प्रहरीले यस सम्बन्धमा पनि अनुसन्धान गरिरहेको छ । घटना अनुसन्धानकै चरणमा रहेको हुँदा यस विषयमा प्रहरीले थप विवरण खुलाउन चाहेको छैन ।