कञ्चनपुरको दक्षिणी क्षेत्रमा विद्युत् अवरुद्ध
2023/07/01, 3:02
 
कञ्चनपुरको दक्षिणी क्षेत्रमा विद्युत् अवरुद्ध

कञ्चनपुर - शनिवार बिहानैदेखि कञ्चनपुरको दक्षिणी क्षेत्रमा विद्युत् लाइन अवरुद्ध भएको छ । शुक्रवार रातिदेखि परिरहेको अविरल वर्षका कारण मैनाह–चान्देव जङ्गलमा ३३ के भि लाइनमा रुख पर्दा लाइन अवरुद्ध भएको हो।

बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले मैनाह–चान्देव जङ्गलमा ५ वटा पोलमा रुख पर्दा तार चुँडिएको बताए । प्राविधिक टोली बिहानै फिल्डमा पुगेको भएता पनि वर्षाले काम गर्न अप्ठ्यारो भइरहेको बताए । थोरै पानी पर्दा , हावाहुरी आउँदा दक्षिणी क्षेत्रमा विद्युत् लाइन अवरुद्ध हुने समस्याका कारण स्थानीय हैरान बन्ने गरेका छन् ।

कलुवापुर बेलौरी सडक खण्ड भएर आउने ३३ के भि लाईन अन्तरगत जङ्गल पर्ने गर्छ । बेलौरी वितरण केन्द्र बेलौरीका अनुसार जङ्गलबाट ल्याइएको तारमा रुख ढल्ने , हाङ्गा लाग्ने लगायत समस्या आउँदा लाइट छिन छिनमा आउने, जाने गरेको छ । दक्षिणी क्षेत्रका स्थानीयहरूले कलुवापुर९बेलौरी सडक खण्डमा विद्युतीय तारलाई अन्डरग्राउन्डबाट ल्याउन बेला बेला माग गर्दै आएका छन् ।