कोरोना पुष्टि भएकी बर्दियाका बालिका बसेको दुई स्थानमा १०१ जनाको स्वाब संकलन 
2020/05/12, 8:00
 
majha gau

कैलालीको गोदावरी नगरपालिका ८ मजगाउँमा बसेकी बालिकामा कोरोना पुष्टि भएप्छि स्थानीयको स्वाब संकलन गरिएको छ । मजगाउँ क्षेत्रका ९६ जनाको स्वाव संकलन गरिएको छ । केहि दिन अगाडी सो क्षेत्रबाट गएकी बर्दियाको राजापुर नगरपालिका–५ घर भएकी बालिकामा कोरोना पुष्टि भएको छ । मजगाउँमा वस्दा उनको सम्पर्कमा आएका ९६ जनाको स्वाव संकलन गरिएको हो । बालिका बसेको घर लगायत उनको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरिएको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विर बहादुर कुँवरले जानकारी दिए ।


२१ घरधुरी रहेको सो क्षेत्रमा १ सय ३० जनाको स्वाव संकलन गरिने भनेकोमा भिटिएम अपुग भएका कारण आज ९६ जनाको मात्रै स्वाव संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए । ‘भिटिएम पनि सकिएकाले आज ९६ जनाको मात्रै स्वाव संकलन गरेका छौ ।’ उनले भने ‘भोली धनगढीबाट थप भिटिएम लिएर स्वाव संकलन गरिने छ ।’ 


कैलालीबाट बर्दिया पुगेकी ११ बर्षीय बालिकामा कोरोना पुष्टि भएपछि उनी बसेको कैलालीको मजगाउँ सिल गरिएको छ । चैत्र ५ गते आफ्नो बजैसंग गोदावरी नगरपालिका ८ मजगाउँ आएकी ती बालिकामा सोमबार कोराना पुष्टि भएको हो । एक महिना बढी बसेर ती बालिका बैसाख १२ गते मजगाउँबाट कैलालीकै भजनी हुँदै १६ गते बर्दिया गएपछि उनलाई क्वारेन्टाईनमा राखिएको थियो ।

उता भजनीका पनि उनको सम्पर्कमा आएका ५ जनाको स्वाव संकलन गरिएको भजनी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रविन थापाले जानकारी दिएका छन ।