इजरायल र हमासबीच थप बन्दी आदान–प्रदान, विपिन जोशीको अवस्था भने अझै अज्ञात
2023/11/28, 2:29
 
ss

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको अस्थायी युद्धविरामअन्तर्गत प्यालेस्टिनी बन्दीहरुको एक समूहको बदलामा इजरायली बन्धकहरुको समूह आदान–प्रदान गरिएको छ। 

स्थानीय समयानुसार मध्यरातमा इजरायली जेलबाट ३३ प्यालेस्टाइनी रिहा भएका छन्। यसअघि हमासले फ्रान्स, जर्मनी वा अर्जेन्टिनाका दोहोरो नागरिक रहेका ११ इजरायली बन्दीलाई रिहा गरेको थियो।

सोमबार कतारी मध्यस्थकर्ताहरूले मंगलबार र बुधवार कभर गरी २ दिनका लागि युद्धविराम लम्ब्याएको घोषणा गरे। ह्वाइट हाउसले युद्धविराम लम्बाइको पुष्टि गरेको छ, तर इजरायलले अझै त्यस्तो घोषणा गरेको छैन। 

संयुक्त राष्ट्रले गाजाबासीलाई तत्काल सहायता वितरण बढाउन युद्धविरामको प्रयोग गरेको छ। तर चेतावनी दिएको छ कि अहिले उपलब्ध भइरहेको राहतको खेप ‘समुद्रमा पानीको एउटा थोपा बराबर’ मात्रै हो। 

गाजावासीले आपूर्ति प्राप्त गर्न र इलाका पार गर्न युद्धविरामको उपयोग गरिरहेका छन्। अहिले गाजावासीहरुले आफ्नो घर फर्किन तथा क्षतिको आकलन गर्न युद्धविरामको उपयोग गरिरहेका छन्। साथै न्यानो कपडाको खोजी पनि गरिरहेका छन्, किनकि अहिले जाडोको मौसममा वर्षा र हावा चल्ने क्रम सुरु भएको छ।

प्यालिस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणपछि इजरायलमा रहेका नेपाली विद्यार्थी विपीन जोशी पनि बेतत्ता भएका थिए। इजरायली सेनाले उनलाई हमास समूहले बन्धक बनाएको बताएको थियो। तर उनको अवस्था अझै अज्ञात छ। 

इजरायल र हमासबीच जारी युद्धविरामका बीच बन्दीहरु आदान–प्रदान भइरहँदा विपीनको विषयमा भने कुनै विवरण सार्वजनिक भएको छैन। युद्धविराम तथा बन्दीहरुको आदान–प्रदानमा मध्यस्थता गरिरहेको कतारलाई नेपालले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि नेपालका लागि कतारका राजदूतलाई बोलाएर विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। तर उनको रिहाइका सन्दर्भमा कुनै प्रगति भने भएको छैन।