घाँसको भारी कस्दै गरेकी डल्लीलाई जब कुवेतमा श्रीमान् अस्ताएको खबर आयो......
2024/03/15, 6:18
 
ss

अछामको पञ्चदेवल विनायक नगरपालिका–५ की डल्ली कडायतलाई बुधबार बिहान एउटा फोन आउँछ। उनी घाँस ल्याउन घर नजिकै जंगलमा थिइन्।

आफ्नै दैनिकीमा व्यस्त उनलाई काठमाडौँबाट आएको त्यो फोनले एकाएक छाँगाबाट खसेजस्तै बनायो। मेनपावर कम्पनीको त्यो कलमा सन्देश थियो, कुवेतमा सुरज बहादुर कडायतको निधनको।

सुरज डल्लीका श्रीमान् हुन्। डल्ली र उनको परिवारका लागि दुःखद् सन्देश लिएर मोबाइलको घण्टी बजेपछि उनी सम्हालिन् सकिनन्। सँगै घाँस काट्न गएका गाउँलेले उनलाई घर पुर्‍याए। २७ वर्षीय सुरजको कुवेतमा सडक दुर्घटनामा परेर निधन भएको हो। उनीसँगै नेपाली नागरिक सुजन कार्की र धिरज गुर्माछान मगरको पनि कारको ठक्करबाट निधन भएको छ।

२०७९ भदौ ३० गते सुरज कुवेत गएका थिए। उनी त्यहाँ पापाजोन नामको कम्पनीमा ‘वेटर’को काम गर्थे। विदेशबाट दिनहुँ परिवारसँग सम्पर्क गरिरहन्थे। 
२६ फागुनमा सुरजले श्रीमती डल्लीसँग अन्तिम पटक सम्पर्क गरेका थिए। उनले त्यसबेला परिवारसँग कुरा गर्दै ‘स्वास्थ्य राम्रै छ। छोराछोरीको ख्याल गर्नू। बुवाले मेरो चिन्ता नगर्नू’ भनेका थिए।

‘त्यसको दुई दिनपछि त्यो घटना भएको रहेछ। हामीले घटनाको भएको दोस्रो दिन हिजो बिहान मात्रै थाहा पायौं’, सुरजका भतिजा दिनेश भन्छन्, ‘परिवारको सहारा विदेशमा अलप भए। यो घटनाले बिक्षिप्त बनाएको छ।’

कुवेत जानुअघि सुरज भारतमा काम गर्थे। उनले ५र७ वर्ष भारतमा काम गरे। त्यहाँबाट फर्किएपछि तीन महिना लामो प्रक्रियापछि उनी कुवेत हानिए। झण्डै साढे ३ लाख ऋण काढेर सुरज विदेशीए। ठूलो सपना बोकेर सात समुद्रपारी कुवेत लागेका सुरज डेढ वर्षमा त्यतै बिलाएका हुन्।

सुरजको निधनले परिवारसँगै पूरै गाउँ शोकमा डुबेको छ। सुरजको निधनले परिवारले सहारा गुमाएको छ। स–साना छोराछोरी टुहुरा भए। उनका ९ र ७ वर्षीया दुई छोरी र ४ वर्षीय छोरा छन्।

सुरजका बुवा नरबहादुरले दुई सन्तानवियोगको पीडा भोग्नु परेको छ। नरबहादुरका तीन सन्तान थिए। जेठो छोरा चन्द्र अहिले भारतमा छन्। माइला छोरा बिर्खको केही वर्षअघि भारतमा निधन भएको थियो।

अहिले कुवेतमा निधन भएका सुरज माइला सन्तान हुन्। अछाममा सुरजको १० जनाको परिवार बस्छ।

‘विदेश जाँदा लागेको ऋण सबै तिरिसकेको थियो। घरपरिवार राम्रै चलिरहेको थियो’, दिनेश भन्छन्, ‘तराईतिर घर बनाउने तयारी थियो। यहीबीच दुःखद् घटना भयो। शव ल्याउन माथि कुरा गरिरहेका छौँ।’

सुरज विदेश भएपछि बर्दियामा थोरै जग्गा जोडेका थिए। त्यहाँ सुरज घर बनाइरहेका थिए। अब त्यो घरमा सुरज कहिल्यै नआउने गरेर विदेशी भूमिमा बिलाए।  नेपालखबरबाट