सुदूरपश्चिममा लम्पी स्किन रोगबाट साढे तीन लाख पशु संक्रमित
2023/12/25, 4:37
 
sads

लम्पी स्किन रोगबाट हालसम्म सुदूरपश्चिममा साढे तीन लाख पशु संक्रमित भएका छन्। गाईभैंसीमा लाग्ने लम्पी स्किन रोगबाट सुदूरपश्चिममा ३ लाख ४६ हजार ८ सय पशु संक्रमित भएको र १४ हजार तीन सय ९० मरेको पशु सेवा विभागले जनाएको छ।

संक्रमित पशुमध्ये तीन लाख २९ हजार चार सय ६८ निको भएका छन्। पशुचौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनबाट हालसम्म भएको आर्थिक क्षतिको यकीन विवरण आउन बाँकी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ पशुचिकित्सक डाक्टर तपेन्द्रप्रसाद बोहराले बताए।

उनका अनुसार आर्थिक क्षतिबारे नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० को आर्थिक विश्लेषण शाखाले अध्ययन गरिरहेको छ। शुरुआती अध्ययनअनुसार एउटा पशु लम्पी स्किन संक्रमित हुँदा करीब ४९ हजार ७३५ रुपैयाँ जति क्षति भएको हुनसक्ने अनुमान गरिएको छ। लम्पी स्किनबाट हालसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा क्षति भएको छ। सुदूरपश्चिममा संक्रमित ३ लाख ४६ हजार ८ सय मध्ये १४ हजार ३९० पशुको मृत्यु भएको छ।

संक्रमित पशु निको हुनेमा पनि सुदूरपश्चिम सबैभन्दा अगाडि छ। एक प्रकारको भाइरसबाट लाग्ने यस रोगको हालसम्म ठ्याक्कै उपचार विधि नभए पनि खोपको माध्ययमबाट यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। सरकारले विभिन्न स्थानीय निकायमार्फत टोली खटाएर खोप लगाउने, किसानलाई परामर्श दिने र रोग नियन्त्रणका उपाय सिकाउने काम गरेको छ। एकपटक रोगबाट संक्रमित भइसकेपछि उक्त पशु चौपायमा पुनः संक्रमण हुने खतरा निकै कम भएकाले यस वर्ष बढी संक्रमण भएका ठाउँमा अर्को वर्ष संक्रमण कम फैलिने अनुमान गरिएको पशुचिकित्सक बताउँछन्।

लम्पी स्किनको भाइरसले जाडोभन्दा गर्मी मौसममा पशुचौपायालाई बढी आक्रमण गर्ने हुँदा सरकारले आगामी वर्ष यसको क्षति न्यूनीकरणको योजना तयार गरिहरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। सो तयारीका लागि मन्त्रालयले इथियोपियास्थित इन्टरनेसनल लाइभस्टक रिसर्च इन्स्टिच्युटसँग मिलेर आगामी वर्ष नेपालमा लम्पी स्किन रोगबाट हुन सक्ने क्षति कसरी कम गर्न सकिन्छ भन्नेमा छलफल गरिरहेको छ। पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले समयमै किसानलाई क्षतिपूर्ति दिलाउन नसकेको स्विकार गर्दै यो वर्षको क्षतिपूर्ति र आगामी वर्षमा हुने जोखिम न्यूनीकरणसम्बन्धी योजना तयार थाल्न आवश्यक बजेट व्यवस्थापन सरकारले गरिदिनुपर्ने बताएका छन्।