सुदूरपश्चिममा छैन क्यानसर अस्पताल
2024/02/04, 3:11
 
ss

 धनगढीका पूर्ण पाठक क्यान्सर रोगबाट पीडित छन् । हप्तामा उनले एक टोरिसेल ५ एमजी इन्जेक्सन लगाउनुपर्ने हुन्छ । कैलालीमा सहजै नभेटिने भएपछि उनले सो इन्जेक्सन लगाउन चितवनको भरतपुर क्यान्सर अस्पताल जानुपर्ने बाँध्यता रहेको छ । दुई वर्ष अघि चितवनमा उपचार गराएर फर्केका उनी अहिले इन्जेक्सन लगाउनकै लागि भनेर चितवन गएका छैनन् । धनगढीमै मिल्छ कि भनेर उनले विभिन्न अस्पताल तथा औषधि सप्लाई कम्पनिहरुसंग सम्पर्क गरे । तर, उनले सो सेवा सुविधा धनगढीमा पाउन सकेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा क्यान्सर अस्पताल नहुँदा औषधि कम्पनिहरुले आयात गरेका छैनन् । उनी भन्छन् –‘चितवन यो इन्जेक्सन निःशुल्क लगाउन पाईन्छ । हप्तामा त्यसैका लागि आवत जावत गर्ने हो भने खर्च बढ्छ । धनगढीमै कुनै अस्पतालमा यो सुविधा भएको भए सहज हुने थियो ।’ पाठकमात्र होइन कैलालीसहित सुदूरपश्चिमका क्यान्सर रोगबाट प्रभावित व्यक्तिहरु उपचारमात्र नभई औषधि लिन पनि नेपालगञ्ज, काठमाण्डौ, चितवन तथा भारतको विभिन्न स्थानमा जानुपर्ने बाँध्यता रहेको छ । सरकार तथा नीजि अस्पतालमा क्यान्सर रोगको उपचार नहुने भएपछि प्रदेशका मानिसहरु अन्यत्र जानुपर्ने बाँध्यता रहेको छ । 

कैलालीको गौरिगंगा नागरपालिका वडा नम्बर ६ का अवि धामी २०७७ पुसमा बिरामी भए । चेकजाँचबाट उनमा क्यान्सर देखियो । आफूसंग उपचारका लागि आवश्यक खर्च नभएपछि अविले आर्थिक सहयोगका लागि सामाजिक विकास मन्त्रालयमा निवेदन पेश गरे । अविले भने– ‘पैसा नभएपछि आफन्त तथा साथीभाईहरुबाट ऋण निकाले । मन्त्रालयले ढिला गरि रकम उपलब्ध गरायो । तर, त्यो पनि अपुग रह्यो ।’ उनले धनगढीमा क्यान्सरको उपचार नहुने भएपछि चितवन जानुपरेको बाँध्यता सुनाए । उनले भने –‘अन्य जिल्लामा उपचार गराउँदा खान, बस्न, आवत जावत लगायतमा खर्च भार बढ्छ । यहि उपचार सम्भव भएको भए आर्थिक भार कम हुने थियो ।’

प्रदेशको सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट ५० हजार र मुख्यमन्त्रीस्तरिय निर्णयबाट एक लाख प्रति व्यक्तिलाई क्यान्सर उपचारका लागि सहयोग गर्दै आएको छ । सोही रकमको भरमा यहाँका विरामी उपचार गराउन चितवन, काठमाण्डौं तथा नेपालगञ्ज जाने गरेका छन् ।

कहिले हुन्छ क्यान्सर अस्पताल ?

तत्कालिन प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘प्रदेशमा एक सय शैयाको क्यान्सर रोग उपचार अस्पताल’ सञ्चालन गर्ने बताइन् । प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा समावेश भएको सो कार्यक्रम अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारले हाल निर्माणाधिन अवस्थामा रहेको गेटा मेडिकल कलेजमा क्यान्सर अस्पताल सञ्चालन गर्ने गरि सो नीति, कार्यक्रम तथा बजेट पेश गरेको थियो । तर, हालसम्म पनि मेडिकल कलेज सञ्चालनमा नआउँदा कागजमै सिमित बनेको छ ।

झापामा विएण्डसिका सञ्चालक रहेका दुर्गा प्रसाईंले धनगढीमै क्यान्सर अस्पताल सञ्चालन गर्ने २०७८ असोजमा धनगढीमा पत्रकार सम्मेलन गर्दै घोषणा गरे । उनले भनेका थिए -‘काठमाडौं र सुदूरपश्चिम प्रदेशमा पनि सुविधासम्पन्न अत्याधुनिक क्यान्सर अस्पताल खोल्ने योजना छ । अहिले अस्पताल निर्माण र सञ्चालनका लागि उपयुक्त ठाउँमा जग्गाको खोजी भइरहेको छ ।’ 

उनले पनि घोषणा गरेको वर्ष दिन भईसक्दासमेत क्यान्सर अस्पताल सञ्चालनबारे सुरसार छैन् । क्यान्सर रोगको सेवा शुरु गर्ने योजनामा स्वस्तिक धनगढीमा भर्खर सेवा शुभारम्भ गरेको वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलले क्यान्सर रोगको सेवा उपलब्ध गराउने तयारी गरेको छ ।