सुदुरपश्चिममा भेल पहिरो र बाढीको जोखिम बढ्दै, यसरी सुरक्षित होऔँ !
2020/07/07, 2:44
 
badi pahiro

बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा शुक्रबार राति भेल पहिरो आयो । बेलुका खानपिन गरेर सुतेका स्थानीय बासिन्दाको मध्यरातमा भागाभाग भयो । गड्याङगुडुङ सहितको ठूलो आवाज सुनेर हारगुहार र हल्लाखल्ला भएपछि निद्राबाट ब्युँझिएकाहरुले भागेर ज्यान जोगाए । मध्यराति आएको भेल पहिरोमा १८ घर बगे । ६ जनाको ज्यान गयो । पहिरोमा बेपत्ता २२ वर्षका गिरिजा जेठारा अझै फेला परेका छैनन् । 

बझाङको जयपृथ्वी नगरपालिका ७, सुवेडाको चौपाखे भन्ने ठाउँमा आइतबार दिउँसो पहिरो गयो । पहिरोमा परेर एक जनाको मृत्यु भयो । एक जना घाइते भए । पहिरोमा सोही वडाका कर्मराज जोशीका १२ वर्षीय छोरा शिवराजको मृत्यु भएको हो । घाइते भएका अर्का स्थानीय जनेश्वर जोशीको उपचार भइरहेको छ । पहिरोमा पुरिएर शिवराज जोशीको एउटा भैंसी पनि मरेको छ । मृतक बालक पहिरो आएको बेला गोठभित्र बसिरहेको थिए । 

वर्षा शुरु भएसँगै सुदुरपश्चिमका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु¥यायो । शनिवार राति घरमाथिबाट खसेको पहिरोले घर पुर्यो भने शौचालय भत्कायो । बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका छन् । पहिरोले घरमा क्षति पु¥याएपछि मङ्गल ऐरको परिवार विस्थापित भएर अहिले अर्को घरमा बसिरहेको छ । यस्तै पुर्चौँडी–३ मा पनि वर्षाले दुई पानीघट्ट, एक कल्भर्ट र खेतबारीमा क्षति पु¥यायो । सपैयाखोलामा रहेको कल्भर्ट बगाउँदा नगरपालिकाको केन्द्र, वडा कार्यालय र डिलासैनी गाउँपालिका आवतजावतमा समस्या भएको छ ।

डिलाशैनी गाउँपालिका १ का विभिन्न स्थानमा गन्नीगाड खोलाले १२ कल्भर्ट बगायो । शुक्रबार र शनिबार राति राती भएको वर्षाका कारण खोलामा आएको बाढीले गाउँमा जाने कल्भर्ट बगायो । वडा नम्बर १ को बडम, सेल्तडा, रामला, डुडेपानीलगायतका क्षेत्रमा पहिरो समेत खस्यो ।  पहिरोले गाउँमा खानेपानीको पाइप समेत बगायो । यी त प्रतिनिधि घटनाहरु मात्रै हुन् । लगातार बर्षा हुन थालेपछि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा पहिरोको प्रकोप बढेको छ । 

तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा पनि बर्षासँगै नदीहरुमा पानी वहाब वढ्न थालेको छ । कैलालीका जोशीपुर गाउँपालिकाका २० घर वाढीको डुवानमा परे । अन्य स्थानीय तहहरुमा पनि डुवानको समस्या देखिन थालेको छ । 

केही दिन भारी वर्षाः पूर्वसावधानी अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि निरन्तर बर्षा भईरहेको जानकारी दिदै नदी नालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसम विद् डाक्टर अर्चना श्रेष्ठका अनुसार मनसुन सक्रिय रहेकाले धेरैजसो ठाउँमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ । असार २६ देखि २९ गतेसम्म धेरैजसो नदीमा सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्नेछ ।

ठूला नदी आसपासका क्षेत्रमा मात्र नभई ठूलो पानी पर्दा सबैले सावधानी अपनाउन सके क्षति हुनबाट जोगिन सकिन्छ । त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा जुट्न पालिका र समुदायलाई अनुरोध गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार पहाडी भेगमा भेल पहिरो र तराईमा बाढी र डुबानको जोखिम बढी हुने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ । 

जोखिम बढ्यो 
मनसुन सुरु भएको २५ दिन भएको छ । यो वर्ष दुई दिन ढिला अर्थात् जुन १२ देखि नेपाल प्रवेश गरेको थियो । जेठ ३० गते पूर्वबाट नेपाल भित्रिएको मनसुन एक हप्तापछि सुदूरपश्चिम पुग्यो । यो वर्ष मनसुन सुरु भएपछि पोहोरको भन्दा दोब्बर बढी पानी परेको छ ।
जमिन नै भिज्ने गरी पानी परेपछि भेल पहिरो, बाढी र डुवानको जोखिम पनि उत्तिकै बढेको छ । मनसुनका बेला बर्सेनी बाढी, पहिरो, डुबानले क्षति गर्दै आएको छ । तर ढुङगा, माटो, लेदो सहित बग्ने भेल बाढीले यसपटक तुलनात्मक रुपमा बढी क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बझाङमा भेल पहिरो गएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । 

भेल पहिरो कसरी जान्छ ? 
भेल पहिरो धेरै पानी परेपछि कमजोर बनेका पहाडमा जाने गर्छ । ढुङगा, माटो, लेदो सहित बोटबिरुवा पनि सोहर्दै बग्ने जलाधार विज्ञ मधुकर उपाध्याय बताउँछन् ।  बझाङमा अरु बेला कल्पना समेत नगरेको ठाउँमा भेल पहिरोले बगाएको प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले बताए । जलवायु परिवर्तनका कारण रुख बिरुवा भएको ठाउँमा समेत पहिरो जान थालेको विज्ञले बताउँदै आएका छन् । जलाधार विज्ञ उपाध्यायका अनुसार भेलब ाढी जति तल बग्दै जान्छ, त्यो भेलको क्षमता गुणात्मक रूपमा बढ्दै जान्छ । त्यसले क्षति पनि उत्तिकै हुने गरेको छ । पानीको निकासको उचित व्यवस्थापन हुन नसक्दा र भएको निकासमा पनि रोकावट हुँदा यस्ता पहिरो खस्ने उनको भनाइ छ । 

सुरक्षित कसरी हुने ?
विपद्बारे पूर्वअनुमान गरी सावधानी अपनाउन सके क्षति घटाउन सकिन्छ । यसअघि अनुमान नै नगरेका ठाउँमा गएको भेल पहिरोबारे सरकारले अध्ययन थालेको जनाएको छ । त्यसबाहेक अरु ठाउँमा सुरक्षित रहन पूर्वसूचना सहित आवश्यक बन्दोबस्त मिलाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलको दावी छ । ‘पूर्वतयारी र प्रतिकार्यको योजना बनाएर त्यसै अनुसार कार्यान्वयन गर्दै आएका छौं, ‘उनले भने, ‘अझै सशक्त रुपमा लैजाने गरी छलफलमा जुटेका छौ ।’ तर जोखिमको पहिचान र अनुमान गर्न स्थानीय बासिन्दा आफैले सक्ने भएकाले त्यस्ता ठाउँमा सकेसम्म नबस्न र आफै सचेत बन्न उनको आग्रह छ । त्यसका लागि व्यक्ती, परिवार र समुदायले विभिन्न उपाय अपनाउन उनको सुझाव छ ।

१.सबैभन्दा पहिला कस्तो ठाउँमा बसेका छौं भनेर पहिचान गर्ने ।
२.भेलबाढी, पहिरो, डुबान विगतमा भएरनभएको जानकारी राख्ने ।
३.  पूर्वसूचना प्रणाली र चेतावनीबारे जानकार हुने ।
४.जोखिम छ भन्ने लागेको खण्डमा पानी परेका बेला सर्तक रहने ।
५.भूकम्पपछि जोखिम पहिचान भएका ठाउँमा बसेकाहरु बढी चनाखो हुने ।
६.आफूले थाहा पाएको सूचना छरछिमेकीलाई पनि सुनाउने ।
७. उच्च जोखिम भनिएका ठाउँमा केही दिन÷हप्ता या महिनाका लागि बसाईं सर्ने ।