घरमै सुत्केरी हुने दर शून्य
2020/05/13, 7:21
 
sutkeri

कञ्चनपुरको लालझाडी गाउँपालिका स्थित देखतभूलीमा घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको छ । घरमै सुत्केरी हुने परम्परा हटाउनका लागि गाउँपालिकाले वडादेखि निरन्तर रुपमा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामै जानुपर्ने कार्यक्रम सञ्चालन गरेपछि देखतभूलीमा घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको गाउँपालिकाले जनाएको छ ।


परम्परागतरूपमा सुत्केरी हुँदा आमा र शिशु दुबै जोखिममा पर्ने हुँदा सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै जानुपर्ने सम्बन्धमा व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि सुत्केरी हुनका लागि महिलाहरु नजिकैको बर्थिङ सेन्टरमा पुग्ने गरेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यकर्मी र महिला स्वयंसेवीकाको अथक प्रयासका कारण गाउँपालिकाको वडा नं ४, ५ र ६ मा घरमै सुत्केरी हुने क्रम रोकिएको हो । ‘महिला स्वास्थ्य स्वयंसेविका मार्फत सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै आउनका लागि घरदैलोमा नै सचेतनामूलक कार्यक्रम गरियो’, स्वास्थ्यचौकी देखतभूलीका प्रमुख लीलाकान्त झाले भने, ‘गर्भवतीले नियमित जाँच गराएमा हुने फाइदा र पाउने सेवासुविधाबारे जानकारी दिन थालेपछि सुत्केरीका लागि महिला विस्तारै स्वास्थ्यचौकी पुग्न थाले ।’ घरमै सुत्केरी हुँदा हुने जोखिम र नवजात शिशुमा पर्ने असरका बारे महिला जानकार बन्न थालेपछि उनीहरु स्वास्थ्य चौकीमा पुग्न थालेका छन । सो क्षेत्रमा सबै महिलाले नियमित जाँच गर्ने र स्वास्थ्य संस्थामा नै गएर प्रसूति सेवा लिने गरेको उनले बताए । ‘पहिले नियमित जाँचका लागि समेत स्वास्थ्य संस्थामा आउन महिला मान्दैन्थ्यो, उनले भने, ‘अहिले आर्थिक रुपमा सम्पन्न मात्रै होइन, विपन्न महिला पनि सूत्केरीका लागि स्वास्थ्य संस्थामा आउने गर्छन् ।’


‘नियमित रुपमा गाउँगाउँमा कार्यक्रम गरी स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाईदाबारे सम्झाइरहेका छौँ’, स्वास्थ्यचौकी प्रमुख झाले भने, ‘स्वास्थ्यचौकीमा तालिम प्राप्त महिला स्वास्थ्यकर्मीले सहजरूपमा प्रसूति गराउँदै आएका छन ।’ जसबाट मातृशिशु मृत्युदर शून्यमा झरेको छ । घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ । राना थारू समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा पहिला महिलालाई परम्परागत तरिकाले सुत्केरी गराइने गरिन्थ्यो । जसबाट आमा र शिशुको ज्यान जाने जोखिम रहन्थ्यो स्वास्थ्यचौकी प्रमुख झाले भने, “बढ्दो जनचेतनाको प्रभावले हाल सबै सुत्केरी हुने महिला स्वास्थ्य चौकी पुग्न थालेका छन् ।” गर्भवती हुँदा र सुत्केरी पश्चात महिलालाई उनका घरपरिवारले पोषणयुक्त खानेकुरा समेत दिने गरेका छन । नवजात शिशुमा विगतमा जस्तो कुपोषणको समस्यासमेत हटेर गएको छ । गाँउपालिकामा जनप्रतिनिधि आएपछि स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलाका लागि सुत्केरी उपहार कार्यक्रम सञ्चालन समेत गरिएको छ । स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराउने र सुरक्षित सुत्केरीका लागि स्वास्थ्य चौकी पुग्ने महिलालाई आधा किलो घ्यू, टुथपेस्ट, ब्रस र साबुन उपहारका रूपमा प्रदान गर्ने व्यवस्था गरिएको छ ।


स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच गराउने र यातायात वापतको प्रोत्साहन रकम महिलाले अलग्गै पाउने गरेका छन । ‘बन्दाबन्दीका बेला सवारीका साधन नपाइँदा महिला घरमै जोखिम मोलेर सुत्केरी हुनेमा आशङ्का गरेका थियौँ’, प्रमुख झाले भने, ‘कोही पनि महिला बन्दाबन्दीका बेला घरमै सुत्केरी भएका छैनन । होम डेलिभरी शून्यमा झरेको छ ।‘ सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पुग्ने महिलासँग धेरै जना आफन्त पनि स्वास्थ्यचौकी पुग्ने गरेकाले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा लागि सामाजिक दूरीसँगै सुत्केरी महिलासँग एक जना आफन्तलाई मात्रै स्वास्थ्यचौकीमा प्रवेश दिइने गरिएको छ । अन्यलाई स्वास्थ्यचौकीको गेटमा छिर्न दिने गरिएको छैन । मासिक रूपमा २० महिलाको सुरक्षित तरिकाले सुत्केरी गराउने लक्ष्य स्वास्थ्यचौकीले लिएको छ । वैशाखमा स्वास्थ्यचौकीमा १०, चैतमा ११, फागुनमा १५ महिला सुरक्षित तरिकाले सुत्केरी भएका छन्। वार्षिक रूपमा २०० महिलालाई सुत्केरी गराउने लक्ष्य लिइएकामा झन्डै १९० महिला सुत्केरी हुनका लागि स्वास्थ्यचौकी पुग्ने गरेका छन् ।
चालू आवको हालसम्म स्वास्थ्यचौकीमा १८० म

हिलाले सुरक्षित सुत्केरी सेवा लिएका छन्। स्वास्थ्य चौकीमै सुरक्षित सुत्केरीका लागि सबै सेवा उपलव्ध हुन थालेपछि बाह्य क्षेत्रमा सुत्केरी हुन जाने महिलासमेत स्वास्थ्य चौकीमा सेवा लिन पुग्ने गरेका छन् । रासस