सुदूरपश्चिममा बोलेरो गाडी हुइँकाउने २० वर्षकी रविना
2025/05/08, 7:50
 
dd

झट्ट गाडी चालक भन्दा नाक खुम्च्याउने हाम्रो समाज अझँ महिला गाडी ड्राइभर भन्दा कसो होलान । गाडी चालक बन्छु भन्दा परिवार र समाजबाटै अस्वूकृत भइने हाम्रो संस्कारमा महिला सवारी चालक बन्दाका चुनौती कति होलान । हो यि चुनौतीकै बिच एउटा सफल चालक बनेकि छिन्, बैतडिकि रुबिना ।

सुदूरपश्चिमका घुम्ती र मोडमा हुइँकिँदै तराई–पहाड ओहोरदोहोर गर्ने बोलेरो जिपको स्ट्रेरिङ घुमाइरहेकी भेटिन्छिन् एक युवती । उनी हुन्, बैतडीको दुर्गम मानिने पञ्चेश्वर गाउँपालिका–४ निङलाडकी २० वर्षीया रविना चन्द । रविना सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सार्वजनिक यातायात चलाउने एकमात्र महिला चालक हुन् । सातामा दुई दिन बैतडीबाट कञ्चनपुरको महेन्द्रनगरसम्म करिब ५ सय किमि गाडी चलाउँछिन् । स्नातक पहिलो वर्षमा अध्ययनरत रविनाले बलेरो चलाउन थालेको ७ महिना बितिसकेको छ ।
गाउँमा किराना पसल चलाउँदै आएका उनका बुबा डबलबहादुरले ७ वर्षअघि बोलेरो किनेका थिए । तर गाडी चलाउन राखिएका चालक कोही छोटो समयमै छाडेर जाने र कोहीले लापरबाही गर्ने भएपछि सार्वजनिक गाडी नियमित रूपमा चलाउन समस्या भयो । सधैंजसो गाडी चालककै समस्या आउन थालेपछि रविनाले आफैं चालक बन्ने अठोट लिइन् ।

रविना चन्दको सपना फोटोग्राफर बन्ने थियो । सपना पूरा गर्ने उद्देश्य बोकेर उच्च शिक्षा अध्ययन गरिरहेकी थिइन् उनी । तर परिस्थितिले उनलाई सोच्दै नसोचेको पेसामा संलग्न बनाइदियो । क्यामेरा समात्लान् भन्ने ठानेका उनका हातहरुले अचेल गाडीको स्टेयरिङ समातिरहेका छन्। फोटोग्राफर बन्ने इच्छा तत्कालका लागि स्थगित गरेर उनले सवारी चालकको पेसालाई अंगाल्न थालेकी छन् । २० वर्षीया रविना चन्द सार्वजनिक यातायात चलाउने बैतडी जिल्लाकै पहिलो महिला हुन् । उनका बुवा ५२ वर्षीय डवल चन्द बैतडीको पञ्चेश्वर गाउँपालिकाको कार्यालय नजिकै शैल्वाडामा पसल चलाउँछन्। पञ्चेश्वर–४ निग्लाड घर भएका उनले यहाँ लत्ताकपडा, किराना लगायतका सामानको होलसेल र खुद्रामा बिक्री गर्न थालेको ३८ वर्ष भयो ।

६ दिदीबहिनी मध्येकी माइली हुन् रविना । डवलका एक छोरा पनि छन् । तीन छोरी र एक छोराले कक्षा १२ पास गरिसके। जेठी छोरीको बिहे भइसक्यो । एउटी छोरी अहिले कक्षा १२ मा पढ्दै छिन् । बाँकी दुइटी छोरी कक्षा ८ र ९ मा पढ्छन् ।
डवलको मुख्य पेसा व्यापार नै हो । पसलको सामान बोक्न उनको एउटा बोलेरो गाडी छ। उनले पसलको काम नहुँदा उक्त गाडी स्थानीयको यातायात सुविधाका लागि प्रयोग गर्ने गरेका छन् । डवलले सुरुमा किनेको गाडीले धेरै दुःख दियो । बिग्रिने समस्या धेरै आएर २७ लाख रुपैयाँ घाटा खाए । पाँच वर्षअघि उनले बोलेरो गाडी किनेका थिए । यो गाडी राम्रै चल्यो तर चालकको समस्या धेरै भयो । केही दिन काम गरेर छाड्ने चालकका कारण हैरान थिए उनी ।

डवल भन्छन् ‘पाँच वर्षको अवधिमा २०–२५ जना चालक फेर्नुप¥यो । राम्रो ड्राइभर नपाउँदा धेरै हैरानी भोग्नुप¥यो । गाडी राम्ररी नचलाउने, भनेको अनुसार काम नहुने समस्या भयो उनीहरूबाट ।’ भनेअनुसार काम गर्ने चालक नपाउँदा बाबुले धेरै हैरानी खेप्नुपरेको कुरा छोरी रविनालाई पनि महसुस भइरहेको थियो । उनले गाडी चलाउन सिक्ने निधो गरिन्। पार्किङमा राखिएको गाडीमा चढेर चलाउने कोसिस गर्न थालिन् । ‘हामीलाई भरपर्दो चालकको खाँचो थियो । गाउँलेहरूले छोरी–छोरी भएको घरमा कहाँ ड्राइभर हुन्छ त भनेर कुरा काट्थे । छोरा मान्छेले मात्रै गाडी चलाउन सक्छ भन्ने सोच राख्थे। मलाई छोरा मान्छेले मात्रै गाडी हाँक्छन् भन्ने मान्यतालाई गलत सावित गर्नुपर्छ भन्ने लाग्न थाल्यो । यसो गर्दा घरको समस्या पनि समाधान हुन्छ भनेर गाडी चलाउन सिक्ने निधो गरेकी थिएँ,’ रविनाले भनिन् । उनले गाउँको कच्ची सडकमा गाडी चलाउने अभ्यास गर्न थालिन् । लगातार अभ्यास गर्न थालेपछि उनमा आत्मविश्वास बढ्दै गयो ।

छोरीको साहसलाई डवलले आफ्नो साहारा ठाने । त्यसपछि उनले रविनालाई गाडी सिक्न महेन्द्रनगरको एक ड्राइभिङ सेन्टरमा पठाए । केही दिन सिकेपछि रविनाले लाइसेन्स निकालिन् । त्यसपछि उनले नियमितरुपमा गाडी चलाइरहेकी छन् ।
‘अहिले त छोरी गाडी चलाउन पूर्णरूपमा सक्षम भइहालिन् । जिपमा बस्ने मान्छेलाई सोध्छु छोरीले गाडी कस्तो चलाउँछिन् भनेर । सबैले राम्रो चलाउँछिन् भन्छन्,’ डलवले भने, ‘अचेल छोरी मज्जाले गाडी चलाउँछिन् । उनको सुरक्षाका लागि घरबाट कहिले म, कहिले श्रीमती, कहिले अरु सँगै हिँड्छौं ।’ रविना यात्रामा निस्कने बेलामा बाबुले डर नमान्नु, साहस राख्नुपर्छ भनेर हौसला दिने गरेको बताउँछिन् । उनी अचेल बैतडीका विभिन्न ठाउँ र पञ्चेश्वरदेखि महेन्द्रनगर, धनगढीसम्म जिप चलाउँछिन् ।
‘कतिपय यात्रुले गाडी बुकिङ गरेर यात्रा गर्छन्, बुकिङ अनुसार पनि जान्छौं, कहिलेकाहीँ सामान पनि बोकेर लग्छु’ रविनाले भनिन् । पञ्चेश्वरबाट धनगढी, महेन्द्रनगरसम्म पुग्न ११–१२ घण्टा समय लाग्छ । ‘गाउँमा धेरै कच्ची र बिग्रिएको सडक हुने भएकाले गाडी चलाउन कठिन पनि छ । मुख्य राजमार्गमा गाडी हाक्दा भने रमाइलो महसुस हुन्छ। सुरुमाभन्दा अहिले त धेरै सजिलो लाग्न थालेको छ । सबैले राम्रो साहसी काम गरेकी छौ भन्दै हौसाला दिनुहुन्छ । यो कुराले अझै खुसी थप्छ,’ रविनाले भनिन्, ‘गाडी चलाउने काम गर्न थालेपछि साथिहरूले तिमीले त प्रगती गर्न थाल्यौ भन्ने गरेका छन् ।’

रविना प्लस टु उत्तीर्ण भएको २ वर्ष भयो। घरमा सघाउनुपर्दा उनी स्नातक तहमा भर्ना हुन पाएकी थिइनन् । यसपाली उनी स्नातक तहमा भर्ना भइन् । कामसँगै पढाइलाई पनि पुरा गर्ने लक्ष्य रहेको उनले सुनाइन् । ‘मेरो सपना त फोटोग्राफर बन्ने थियो, तर घरको अवस्थाले ड्राइभर बन्न पुगें। मेरो लागि मेरो बुवा र मेरो परिवार सबैभन्दा माथि छन्, रविनाले भनिन्, ‘बिस्तारै अरु सपना पनि पूरा हुँदै जालान् ।’

रविनाले गाडी चलाउन थालेपछि ड्राइभर पेसाका कारण हुने समस्या घरमा झेल्नुपरेको छैन । ‘भन्न त ड्राइभिङ केटीहरूले गर्ने पेसा होइन समेत भन्छन् । तर म आफ्नो कर्तव्य पूरा गरिरहेकी छु । सार्वजनिक यातायात चलाउने सपना देख्ने महिलाहरूका लागि आफ्नो कामले साहस भर्ने काम गरिरहेकी छु,’ उनी भन्छिन्, ‘नेपाली समाजमा महिलाहरूको काम केवल विवाह गर्ने, गृहिणी बन्ने र बच्चा जन्माउने मात्रै हो भन्ने सोच छ । महिलाले जस्तोसुकै काम गर्न सक्छन् भन्ने उदाहरण दिन पनि म यो काम गरिरहेकी छु ।’
‘जिप किनेपछि चालकले गाडी बीचबाटोमै छोडेको, कहिले बिनाजानकारी छाडेर हिँडेको जस्ता समस्या सुनिरहनुपथ्र्यो । त्यसले गर्दा उमेर पुगेपछि आफैं गाडी चलाउँ कि क्या हो भन्ने सोच आउन थाल्यो,’ उनले भनिन् । ‘बुबाको समस्या समाधान गर्न र जिम्मेवारी लिन चालक बन्ने सपना देखें, अहिले पूरा पनि भयो,’ उनले भनिन् । चालक पेसा र पढाइ सँगसँगै अघि बढाउन चाहन्छिन् रविना । भन्छिन्, ‘सार्वजनिक सवारी चालकहरू बीचमै पढाइ छोड्ने गर्छन्, पढ्दैनन् भन्ने भाष्यलाई गलत सावित गर्न चाहन्छु म  ।’
रविनालाई उनका साथीहरू ‘रवि गुरु डन’ भनेर सम्बोधन गर्छन् । सुरुमा गुरु भनेर बोलाउँदा उनलाई लाज लाग्थ्यो । सवारी चालकलाई गुरु भनिने भएकाले अहिले रविनाले पनि सामान्य रूपमा लिन थालेकी छन् । महाकाली यातायात व्यवसायी समितिमा दर्ता भएको म १ ज नम्बरको बलेरो चलाएर उनले बैतडीदेखि सुदूरपश्चिमको प्रदेश राजधानी धनगढी र कञ्चनपुरको महेन्द्रनगरसम्म यात्रुलाई सुविधा दिँदै आएकी छन् । बैतडीको पञ्चेश्वर, शिवनाथ र मेलौलीका यात्रुलाई उनी कच्ची सडक हँककदै तराईसम्म पु¥याइरहेकी छन् ।

‘पहिले त गाडीमा बसेका यात्रुले ड्राइभर खोइ भनेर सोध्थे । मै हो भन्दा पत्याउँदैनथे । कोही त अर्को गाडीमा जान्छौं भन्दै हिँड्थे । छोरी मान्छेले यति लामो बाटोमा सुरक्षित लैजान सक्दिन कि भनेर डराउँथे सायद,’ रविना सम्झिन्छिन्, ‘यात्रुलाई सम्झाइबुझाइ गरेर लग्यो, बीचमा फेरि ट्राफिकले झन् धेरै केरकार गर्ने । विश्वास नलागेर लाइसेन्स पटक–पटक घुमाएर हेर्ने । कति ट्राफिकले त फोटोसमेत खिचेर राख्ने गर्थे ।’ सातामा दुई पटक तराई–पहाड ओहोरदोहोर गर्ने भएकाले अहिले ट्राफिक प्रहरीले चिन्न थालेको र राम्रो व्यवहार गर्दै आएको उनले बताइन् ।

परिवारमा रविनासहित ६ दिदीबहिनी छन् भने उनका एक दाइ छन् । जेठी दिदी मञ्जु वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छिन् । ‘बुबाको हौसला र साथले सुरुमा गाउँमै चलाउन सिकें, त्यसपछि महेन्द्रनगर गएर ट्रेनिङ सेन्टरमा १५ दिन सिकें, पहिलो प्रयासमा ट्रायल पास भएँ र लाइसेन्स पनि पाएँ,’ उनले भनिन् ।’

महिलाहरु घर र चुलो चोकोमै सिमित हुनुपर्छ भन्ने भास्यलाई रबिनाले गलत साबित गरेकि छिन् । पहाडी भेग अनी बिभेदपुर्ण समाजका बिच रुबिनाले सफल जिप चालक बनेर देखाएकि छिन् । आँट गरे सबै काम गर्न सकिने रहेछ भन्ने उदाहरण रबिना बनेकि छिन् । महिला भन्दैमा घरभित्र मात्रै सिमित रहनुपर्छ भन्ने भाश्यलाई चिर्दै महिला ड्राइभर बनेकि उनलाई बिभिन्न क्षेत्रबाट सममान समेत भइरहेको छ । आफु आत्मनिर्भर सगैं अन्य महिलाहरुको मनोबल बढाउने काम गरेको भन्दै उनलाई सम्मान सगैं प्रशंसा समेत भइरहेको छ । अब घरभित्र नभई इमान्दारिताका साथ काम गर्न महिला पुरुष सबै तयार हुनुपर्ने उनि बताउछिन् । कहिले कम त कहिले बढी आम्दानी होला तर आफ्नै देशको कर्मले खुशि दिन्छ उनले भनिन् “मैले बिदेश गएर यस्तै काम गर्नुपरेको भए कति दुख हुन्थ्यो तर नेपालमै गाडी चालकको काम गरिरहेकी छु, सबै चिनजानका मान्छेहरु हुनुहुनछ म आफ्नो काम सहज तरिकाले गरिरहेकि छु र आफ्नो काम प्रति गर्व गर्छु ।”