२९ हजार विद्यार्थीलाई घर घरमै पौष्टिक आहार वितरण
2020/07/11, 10:52
 
rahat

बझाङ जिल्लाका २९ हजार एक सय विद्यार्थीहरुलाई  पौष्टिक आहार वितरण गरिएको छ । सामाजिक दूरीलाई मध्यनजर गर्दै विश्व खाद्य कार्यक्रमले जिल्लाका १२ वटै पालिकामा रहेका विद्यार्थीहरुलाई पौष्टिक आहार घरघरमा नै उपलब्ध गराएको हो ।

जयपृथ्वी नगरपालिका–५, माझेशैनको भैरव आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३ जना बालबालिकाहरुलाई आहार वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक मदनराज उपाध्यायले बताए । यू.एस.डी.ए.को सहयोग, विश्व खाद्य कार्यक्रम तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षाका लागि खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालित विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत रहेर पौष्टिक आहार वितरण गरेको हो ।

तीन महिनासम्मको बन्दाबन्दीका कारण विद्यालय जान नपाउँदा पौष्टिक आहार नपाएपछि घरमै गएर आहार वितरण गरिएको यस कार्यक्रमका सुदूरपश्चिम प्रदेशका फिल्ड अधिकृत राजेन्द्र रसाइलीले बताए । २०५७ सालदेखि बझाङ जिल्लामा लागू भएको यस कार्यक्रम मार्फत अहिलेसम्म जिल्लाभर  १ हजार ७ सय ४६ क्विन्टल चामल, ४ सय ३६ क्विन्टल दाल र  १४ हजार ५ सय ५० लिटर तेल वितरण गरिएको रसाइलीले बताए ।