सर्पदंश उपचार केन्द्रले सर्वसाधारण लाभान्वित, यो बर्षायाममा ७९ जनाको उपचार
2020/07/14, 6:30
 
snake

नेपाली सेनाको कैलालीको बढैपुर स्थित कालीरक्षा गण (ई) ले संचालन गरिरहेको सर्पदंश उपचार केन्द्रले सर्वसाधारणहरु लाभान्वित भएका छन् । उपचार केन्द्र स्थापना भएपछि  क्षेत्रका स्थानीयबासीन्दाहरु लाभान्वित भएका हुन् । यस वर्षको वर्षायाम सुरुवातसंगै हालसम्म ७९ जना सर्पदंशका विरामीहरुको केन्द्रमा सफल उपचार भएको कालीरक्षा गण (ई) का गणपति प्रमुख सेनानी प्रदिप थापाले जानकारी दिए ।

1

हाल विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को महामारीको अवस्थामा समेत विशेष सुरक्षात्मक उपायहरु अपनाएर सर्पदंश उपचार केन्द्रबाट २४ सैं घण्टा सर्पदंश उपचार सम्बन्धी सेवाहरु प्रदान दिईरहेको उनले बताए । सर्पदंश उपचार केन्द्रमा गत बर्ष सर्पदंशका एक सय ८९ जनाको उपचार गरिएको थियो । एक सय १९ महिला र ७० जना पुरुषको उपचार गरिएको थियो । २०७१ सालमा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रले स्थापना भएपछि हालसम्म एक हजार १९ जनाको उपचार गरेको जनाएको छ । 

2

गौरीगंगा नगरपालीका वडा नम्बर ८ मा २०७१ साल साउन  १ गतेदेखि स्थानीयहरुका सक्रियतामा  सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो । नेपाली सेनाले सर्पदंश उपचार सम्बन्धी तालिम प्राप्त दक्ष जनशक्तीहरुबाट सर्पदंश सम्बन्धी सेवा प्रदान गरिरहेको कालीरक्षा गण (ई) का गणपति प्रमुख सेनानी प्रदिप थापाले जानकारी दिए । 

तराई तथा भित्रि मधेश क्षेत्रहरुमा गर्मीयाम तथा वर्षायामको शुरुवातसंगै सर्पदंशका घटनाहरु समेत उल्लेखनीय मात्रामा वृद्धि हुने गरेको छ । दैनिक खेतवारीमा काम गर्दा तथा घांसपात र दाउरा संकलन गर्ने कार्यहरुमा बाहिर जांदा सर्पको टोकाईमा परी हरेक वर्ष धेरै संख्यामा स्थानियबासीहरुले अकालमा ज्यान गुमाउनुपर्ने घटनाहरु समेत विगतमा रहंदै आएको थियो ।