क्वारेन्टिनमा बसेका सबैको कोभिड–१९ परीक्षण गरिँदै
2020/07/14, 6:54
 
corona

विदेशबाट फर्केर प्रदेशका क्वारेन्टिनमा बसिरहेका नागरिकको कोभिड–१९ परीक्षण गर्न लागिएको छ । कम्तीमा पाँच दिन क्वारेन्टिनको बसाई पूरा गरेका सबै नागरिकको पीसीआर पद्धतिबाट नमूना जाँच गर्न पहल भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।  उनले भने, “यसका लागि स्वाबको नमूना सङ्कलन गरी प्रयोगशालमा पठाउन प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ ।” 

यसैबीच प्रदेशमा समुदाय तहमा समेत नमूना सङ्कलन र परीक्षण गर्ने तयारी थालिएको छ । १५ दिनभित्र यो काम शुरू गर्ने गरी गृहकार्य भइरहेको डाक्टर अवस्थीले जानकारी दिए । सुदूरपश्चिमका विभिन्न जिल्लामा बनाइएका क्वारेन्टिनमा छ हजार १९१ जना बसिरहेका छन् ।

अहिलेसम्म पीसीआर पद्धतिबाट २६ हजार ७६२ को नमूना जाँच भइसकेको छ । यस्तै आरडिटी पद्धतिबाट एक लाख १८ हजार २९२ नमूना जाँच गरिएको छ । पछिल्ला दिनमा प्रदेशमा नमूना संकलन कार्य सुस्त भइरहँदा सङ्क्रमणको दर पनि घट्दै गएको देखिएको छ ।