धनगढी विमानस्थल प्रतिकुल मौसममा पनि उडान भर्न सकिने उपकरण जडान
2020/08/27, 6:13
 
airport

धनगढी विमानस्थलमा कम भिजिविलीटी अर्थात प्रतिकुल मौसममा पनि उडान भर्न सकिने गरी उपकरण जडान गरिएको छ । जापानी सहयोग नियोग जाईकाले विमानस्थलमा भीओआर–डिएमई उपकरण जडान गरेको हो । जाईकाले उपकरण जडान गरेपनि परिक्षण भने हुन सकेको छैन ।

प्रतिकुल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई सामाधानका लागि उपकरण जडान गरिएकोधनगढी विमानस्थलका कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताए । उनका अनुसार कोरोना प्रभाव पछि जारी लकडाउनकै कारणले गर्दा परीक्षण गर्न नसकिएको हो । उपकरण जडानपछि धनगढी विमानस्थलमा खराबम मौसम र रात्रीकालीन उडान तथा अवतरण गर्न सकिने छ । 

स्तरवृद्धिको काम अन्तिम चरणमा
धनगढी विमानस्थलको स्तरवृद्धि र धावन मार्ग मर्मत सम्भारको काम पनि अन्तिम चरणमा पुगेको छ । धावनमार्ग मर्मत सम्भार, पार्किङ क्षेत्र विस्तार सहित सुरु भएको विमानस्थल स्तरवृद्धिको काम अन्तिम चरणमा पुगेको हो । पहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तर वृद्धिसँगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

तीन वटा विमान पार्किङ गर्ने क्षमता रहेको विमानस्थल मर्मत सकिएपछि ४ वटा विमान पार्किङ गर्न सकिने छ । एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि लगायतका सेवा थप र विस्तारको योजना पनि रहेको छ । कोरोना भाइरसको महामारी रोकथामका लागि जारी लकडाउनले बीचमा काम रोकिए पनि अहिले पुनः कामलाई गति दिईएको धनगढी विमानस्थलका कार्यालयका प्रमुख बुढथापाले बताए । गत आर्थिक वर्ष २०७६÷७७ मा स्तरवृद्धिको काम गरिएको भएपनि चालु वर्षमा भने कुनै कार्यक्रम नरहेको विमानस्थलले जनाएको छ ।