धनगढीले १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन गर्न पठायो
 
11

धनगढी उपमहानगरपालिकाले यो वर्ष एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाएको छ।उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यो वर्ष एकल महिलाहरूलाई मुक्तिनाथ यात्रामा पठाइएको हो।

शुक्रवार धनगढीका १५० जना एकल महिला मुक्तिनाथ यात्राका लागि प्रस्थान गरेका छन्। उनीहरूलाई नगर प्रमुख गोपाल हमाल लगायत जनप्रतिनिधि र कर्मचारीले बिदाइ गरेका हुन्।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९र८० देखि हरेक वर्ष जेष्ठ नागरिकहरूलाई मुक्तिनाथ यात्रामा पठाउन थालेको हो। यो वर्ष भने उपमहानगर क्षेत्रभित्र स्थायी बसोबास भएका एकल महिलाहरूलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको हो।

मुक्तिनाथ दर्शन गर्न सुरुको वर्ष १३१ जना जेष्ठ नागरिकलाई पठाइएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा १४० जना,  आर्थिक वर्ष २०८१/८२ मा १३१ जना जेष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गर्न पठाइएको थियो। उपमहानगरपालिकाले चालु आर्थिक वर्षसम्म ५५२ जना नगरवासीले मुक्तिनाथ दर्शन गर्ने अवसर पाएको जनाएको छ।

उपमहानगरपालिकाले मुक्तिनाथ यात्राको दौरान पोखरा, बागलुङ, म्याग्दी र चितवनका धार्मिक स्थलको समेत दर्शन गराउने व्यवस्था मिलाउने गरेको छ। उपमहानगरले तीर्थालुहरूलाई तनहुँ र चितवनमा पर्ने देवघाट र नवलपरासीमा पर्ने शाश्वत धामको समेत दर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।