शिक्षकको कार्य सम्पादन मूल्याँकन बारे आयोगको नयाँ निर्णय
2020/05/14, 7:10
 
exam

शिक्षकको कार्य सम्पादन मूल्याँकन बारे शिक्षक सेवा आयोगले नयाँ निर्णय गरेको छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनीकरण गर्न भन्दै जारी लकडाउनका कारण नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न असहज भएकोले विद्यालयहरु नियमित सञ्चालन भए पछि मात्रै उक्त कार्य गर्न सकिने आयोगले  निर्णय गरेको हो ।

'लकडाउन खुला भइ विद्यालयहरु सञ्चालनमा आउने समय यकिन भईनसकेको सन्दर्भमा शैक्षिक बर्ष २०७६ को कार्य सम्पादन मूल्याँकन फाराम भर्ने, दर्ता गर्ने र मूल्याँकन गर्ने कार्यको लागि विद्यालयहरु नियमित सञ्चालन भए पश्चात आयोगले निश्चित अवधि सहित पुनः सूचना प्रकाशन गर्ने' मंगलबार भएको आयोगको निर्णयमा उल्लेख छ ।

आयोगको नियमावली २०५७ को नियम ३२ घ को उपनियम ७ मा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र शुरु भएको ३० दिन भित्र कार्य सम्पादन मूल्याँकन फाराम भरी सम्बन्धित विद्यालयमा दर्ता गर्नु पर्ने व्यवस्था छ ।

तर चैत ११ गते देखि जारी लकडाउनका कारण विद्यालयहरु बन्द भएपछि कार्यसम्पादन मूल्याँकन फाराम भर्ने कार्य के गर्ने भन्ने अन्यौल भएको थियो । लकडाउन जेठ ५ गते सम्मका लागि तोकिएको छ  ।