सुदूरपश्चिममा १६५७ स्वाब होल्ड, कोरोना परिक्षणको रिपोर्ट ४ दिनमै आउने
2020/07/20, 10:59
 
corona

सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको शंकास्पद गरिएकाहरुको पीसीआर परीक्षणको रिपोर्ट चार दिनसम्ममा आउने भएको छ । यसअघि  कोरोना परीक्षणको रिपोर्ट ५ देखि ७ दिनसम्म लाग्ने गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नमुना संकलन कम हुँदा परीक्षणको दर घटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीका अनुसार पछिल्लो समय नमुना संकलन कम हुँदा परीक्षण कम भएको हो । 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले कोरोनाका शंकास्पद व्यक्तीहरुको पीसीआर परीक्षणको रिपोर्ट अहिले ३ दिनदेखि  ४ दिनमा दिने गरेको बताए । नमुना संकलन धेरै भए काठमाडौं पठाउनुपर्ने अवस्था आए परीक्षणको रिपोर्ट एक सातामा लाग्ने उनले जानकारी दिए । उनले भने, “दैनिक यति नै नमुना संकलन गरिन्छ भन्ने छैनन्, तर आवश्यकता र अवस्था हेरेर परीक्षण गदै आएका छौं ।”

उनका अनुसार कोरोना परीक्षण घटेको छैन । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सयसम्म परीक्षण हुने गरेको छ भने ५० देखि ६० वटासम्म डडेलधुरा अस्पतालको प्रयोगशालामा हुने गरेको छ । एक हजार ६५७ वटा नमुना परीक्षणको पालो कुरेर बसेका स्वाब (होल्ड) रहेको उनले बताए ।

उनका अनुसार पहिला ३ हजारको हाराहारीमा नमुना होल्ड हुँदा परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएको थियो । “कोरोना संक्रमण समुदायमा फैलिएको छैन, भारतबाट आएकाहरु  क्वारेन्टिनमा राख्ने गरिन्छ, क्वारेन्टिनमा बसेको १० दिनपछि हामीले परीक्षण गछौँ,” उनले भने, “भारतबाट पनि दैनिक आठ सयदेखि एक हजारसम्म आउने गरेका छन् ।”