सेती अस्पतालको आईशोलेसन तीन दिनदेखि खाली, धनगढीको आइसोलेसनमा १४ जना मात्रै संक्रमित
2020/07/23, 5:22
 
seti

सबैभन्दा वढी कोरोना संक्रमित रहेको सेती प्रादेशिक अस्पतालद्वारा संञ्चालित कोरोना अस्थायी अस्पतालको आईशोेलेसन तीन दिनदेखि खाली रहेको छ । साउन ६ गतेदेखि कोही पनि संक्रमित नआएपछि आइसोलेसन खाली भएको हो । सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले सेती प्रादेशिक अस्पतालको आईसोलेशन मंगलबारदेखि खाली रहेको बताए ।

हालसम्म सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित  ८० जनाको उपचार भएर डिस्चार्ज भएको श्रेष्ठले जानकारी दिए । उनले संक्रमित र शंकास्पद गरी एक सय ८३ जना सेती अस्पतालको आइसोलेशन भर्ना भएको जानकारी दिए । गत जेठ ३१ गते सेती अस्पतालले आइसोलेसनमा सबैभन्दा बढी ३५ जना संक्रमित राखिएको जानकारी गराउँदै सुचना अधिकारी श्रेष्ठले अहिले आइसोलेशन पुरै खाली रहेको बताए । 

स्थानीय तहहरुले समेत आइसोलेसन निर्माण गरेका कारण कोरोना संक्रमित तर लक्षण नदेखिएकाहरु सोही आईसोलेसन र होम क्वारेन्टिनमा बस्ने गरेको उनले बताए । त्यस्तै धनगढी उप–महानगरपालिकाले संञ्चालन गरेको आइसोलेसनमा समेत अहिले संक्रमितको संख्यामा कमी आएको छ । उप–महानगरपालिका ८ का अध्यक्ष तथा कोभिड १९ फोकल पर्सन नारायण बरालले उप–महानगरपालिकाको आइसोलेसनमा हाल १४ जना मात्रै संक्रमित रहेको बताए ।

बिहीबारसम्म सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार एक सय ७७ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भईसकेको छ ।