सत्याग्रह सुरु गर्ने डा.केसीको चेतावनी
2020/07/26, 3:57
 
dr kc

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले ३ बुँदे माग तीन सातामा पूरा नगरे सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।  जुम्लामा रहेका केसीले आइतबार (आज) विज्ञप्ति जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै तत्काल अनुमति प्रदान गर्न माग गरेका हुन् ।  

यातायात सहज नभएका कारण देशभर हजारौं मानिसहरु अस्पताल पुग्न नसकेका कारण उपचार नपाएर छटपटाइरहेका छन् भने अस्पताल पुग्ने पनि अचाक्ली महंगो भाडा तिरेर गाडी रिजर्भ गर्नुपरेको उनको विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुसार निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्तिको कानूनी व्यवस्था गर्न माग गरेका छन् ।

त्यसैगरी, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन र गेटा मेडिकल कलेज र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठन पाठन गराउन पनि माग गरेका हुन् । 

चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० सिट कायम गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गरेका छन् ।