
दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेको हो।

गएको तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो। उत्पादन लागतमा गएको तीन वर्षयता ३० प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएको जनाउँदै उनीहरुले दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनु पर्ने माग राखेका हुन्।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादनबिना मानव जीवन सम्भव नरहेको बताउँदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको आरोप लगाए। उनले भारतमा महात्मा गान्धीले जनतालाई आफूले भात खाने थाल हातमा समातेर बिहान उज्यालो भएदेखि बेलुकासम्म चम्चाले ठटाइ विरोध जनाउन अनुरोध गरेको र त्यही विरोधले भारतबाट ब्रिटिशहरु लज्जित भएर भारत छोडेको इतिहास पनि सुनाए।

नेपालका ६५ प्रतिशत किसानले त्यस्तै अनुशासित आन्दोलन सुरु गरे भने सरकार सात दिनमात्र टिक्ने उनको दाबी छ। नयाँ मूल्य निर्धारण नगरिए यो क्षेत्रका १० लाख किसानको प्रत्यक्ष रोजगारी गुम्ने र खरबौँ रुपैयाँका गाई, भैँसी नाशिने र राज्यको व्यापार घाटा बढ्ने समाजको ठहर छ। नेपालको अस्तित्व नै संकटमा पर्नेबारे पनि समाजले सचेत गराएको छ।