विद्यालयको मूल्याङ्कनमा भविष्य निर्भर भएपछि विद्याथीलाई पिरलो
2020/08/04, 10:47
 
Photo

विद्यालयले गर्ने मूल्याङ्कनमा भविष्य निर्भर भएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन नपाएका विद्यार्थी चिन्तित बनेका छन् । विद्यालयको अन्तिम मूल्याङ्कन कस्तो हुने भन्दै उनीहरु चिन्तित बनेका हुन । यसवर्षको एसईई परीक्षा कोरोना भाइरस महाकारीका कारण स्थगित भएको थियो । कोरोनाका कारण एसईई दिन नपाएका विद्यार्थीको नतिजा अब विद्यालयले गर्ने अन्तिम मूल्याङ्कनमा निर्भर हुनेछ । 

‘एसईई स्थगित भएपछि साह«ै नराम्रो लाग्यो’, धनगढी माध्यमिक विद्यालयमा अध्ययनरत बुद्ध चौककी निशा चौधरीले भनिन् । ‘अब विद्यालयले कस्तो मूल्याङ्कन गर्नेछ भन्ने कुराको चिन्ता छ ।’ 
    विद्यालयले गर्ने अन्तिम् मूल्याङ्कनभन्दा निशालाई आफ्नो मिहिनेतमाथि विश्वास छ । परीक्षा दिन पाएको भए नतिजा एक किसिमको आउँथ्यो होला भन्दै उनले अगाडि थपिन्–‘विद्यालयले गर्ने अन्तिम् मूल्याङ्कन मैले गरेको मिहिनेतभन्दा फरक पनि हुन सक्छ ।’

विद्यार्थीले आफूले गरेको मिहिनेत अनुसारको नतिजा प्राप्त गर्नु नै उनीहरुको लागि सबैभन्दा ठूलो उपलब्धि हो । त्यसैले, परीक्षामा राम्रो नतिजा ल्याउनका लागि उनीहरुले धेरै मिहिनेत गरेका थिए । तर, परीक्षा दिन नपाएपछि वर्षभरिको मिहिनेत खेर गएको उनीहरुको बुझाइ छ । अन्तिम समयमा आएर एसईई स्थगित भएपछि एकदमै नराम्रो लागेको विद्यार्थी पूजा बोगटीले बताइन् । ‘१०÷१० वर्षसम्म सङ्घर्ष गरियो’, उनी भन्छिन्–‘अन्तिममा एसईई परीक्षा नै दिन नपाएपछि असाध्यै नराम्रो लाग्यो ।’ 

वर्षभरि पढेर परीक्षा दिन नपाउनु ठूलो दुर्भाग्य रहेको पूजाको ठहर छ । एसईई दिनका लागि बालिका क्लब बनाएर विद्यालयमै तयारी गरेको सुनाउँदै उनले अगाडि थपिन्–‘त्यत्रो दुःखकष्ट गरेर गरेको तयारी खेर गयो ।’ यसवर्षको एसईई गुमाएका विद्यार्थीलाई विद्यालयले गर्ने अन्तिम मूल्याङ्कनप्रति जति चिन्ता छ, त्यति नै आगामी भविष्यको पनि । विद्यालयले राम्रो मूल्याङ्कन गरेमा आगाडिको भविष्य पनि राम्रो हुने धनगढी उपमहानगरपालिका–७ मनेहराकी मुना चौधरी बताउँछिन् । 

    ‘यदि, नतिजा राम्रो आयो भने राम्रो विषय लिएर पढ्न पाइन्छ’, उनले अगाडि थपिन्–‘ग्रेड कम भएमा आफूले चाहेको विषय लिएर उच्च शिक्षा हासिल गर्न पाइन्न ।’ मुनाले पनि परीक्षा दिन पाएको भए राम्रो हुने थियो, भनिन् । ‘अब विद्यालयले त खै कस्तो मूल्याङ्कन गर्छ’, उनले अगाडि थपिन्–‘नतिजा कस्तो आउने हो, डर लागिरहन्छ ।’ 

    कतिपय विद्यार्थी भने विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन राम्रो हुनेमा आशावादी छन् । ‘विद्यालयले सकेसम्म राम्रो मूल्याङ्कन गर्नेछ’, धनगढी माविमा अध्ययनरत नीरा रानाले भनिन् । उनले एसईई परीक्षा दिएकोभन्दा नि विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन विद्यार्थीका लागि फाइदाजनक रहने बताइन् ।  
    त्यसो, त यो वर्ष विगतकोभन्दा एसईई नतिजा धेरै फरक आउने अपेक्षा गरिएको छ । विद्यार्थीका अन्तिम् मूल्याङ्कनको हर्ताकर्ता स्वयम् उनीहरु पढेका विद्यालय नै हुने भएकाले नतिजा अलि राम्रो आउने विश्वास गरिएको छ । ‘डी’ र ‘इ’ ग्रेड नतिजा आउने विद्यार्थीको सङ्ख्या धेरै कम हुने आशङ्कासमेत गरिएको छ । यो कुरामा शिक्षक पनि सहमत देखिएका छन् । 


एसईई नभएको अवस्थामा विद्यार्थीको सहि मूल्याङ्कन नहुने सम्भावना धेरै रहेको शिक्षक उद्धवकुमार सिंह बताउँछन् । ‘विद्यार्थीले मिहिनेत गरे अनुसारको प्रतिफल नआउन पनि सक्छ’, उनले भने । ‘विद्यालयमा राम्रो गरेका विद्यार्थीको नतिजा नराम्रो र नराम्रो गर्नेको नतिजा राम्रो आउन सक्ने सम्भावना छ ।’ शिक्षक सिंहले विद्यार्थीको नतिजालाई नातावाद, कृपावाद र भनसुनले पनि धेरै फरक पार्न सक्ने सम्भावना रहेको उल्लेख गरे । 

एसईई गुमाएकालाई हाइजिन किट
यसैबीच, एसईई दिन नपाएका कैलालीका सामुदायिक विद्यालयका छात्रालाई ‘हाइजिन किट’ दिइएको छ । परीक्षा दिन नपाएको उनीहरुको पिडामा मलम लगाउने र कोरोना महामारीमा सहयोग पु¥याउने उद्देश्यले सीमान्तकृत बालिकाको शिक्षामा सहयोग परियोजनाले हाइजिन किट दिएको हो । 

परियोजना लागू भएका क्षेत्रको ३० विद्यालयका एक हजार ४७८ छात्रालाई सेनिटरी प्याड, सेनिटाइजर, पञ्जा र मास्क दिइएको परियोजनाका सिनियर प्रोजेक्ट अफिसर पवित्रा चौधरीले बताइन् । उनले ३० वटै विद्यालयमा बालिका क्लब गठन गरेर उनीहरुको शिक्षण सिकाइमा सहयोग गर्दै आएको उल्लेख गरिन् । ‘यसले बालिकाको सिकाइ उपलब्धि बढ्नुका साथै बालिकाले विद्यालय छोड्ने क्रम एकदमै घटेको छ’, उनले भनिन् ।