सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा अन्यौल
2020/08/05, 9:51
 
seti

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन ।  अस्पताल प्रशासनको चरम लापरबाहीका कारण मेसिन खरिदका लागि गत आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजित साढे ८ करोड रकम फ्रिज भएको छ । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हालसम्म टेन्डर समेत गर्न सकेको छैन । गत आर्थिक वर्षका लागी प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद गर्न साढे ८ करोड र यसकै भवन निर्माणका लागि ६ करोड विनियोजन गरेको थियो । तर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले भने आन्तरिक कारण देखाउँदै सिटी स्क्यान मेसिन खरिद गर्न समस्या रहेको भन्दै आलटाल गरे ।

उनले रकमान्तरका लागि मन्त्रालयमा परिपत्र समेत गरे । डा.पाण्डेले हाल अस्पतालमा  मेसिन खरिद गर्न नसकिने भन्दै मन्त्रालयमा रकमान्तरका लागी पत्र पठाएका थिए । अस्पताल विकास समिति सँग छलफल विना नै मेसु पाण्डेले रकमान्तरका लागि पत्र पठाएको भन्दै चर्को आलोचना पनि भयो । मेसु पाण्डेले त्यति बेला अस्पतालमा तत्काल सिटी स्क्यान खरिद गरिए पनि यसलाई कसरी सञ्चालन गर्ने भन्ने संरचना अभाव देखिएकाले रकमान्तरका लागि पत्र पठाएको स्वीकार गरेका थिए ।

सामाजिक विकास मन्त्रालयले पटक पटक ताकेता गर्दा पनि अस्पताल प्रशासनको लापरबाहीका कारण गत आर्थिक वर्षको बजेट फ्रिज भएको जनाएको छ । अस्पताल प्रशासन र व्यवस्थापन समितीको आन्तरिक किचलोका कारण बजेट फ्रिज गएको मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए । चालु आर्थिक वर्षमा पनि ५० लाख थपेर मेसिन खरिदका लागी ९ करोडको बजेट विनियोजन भएको उनले बताए । मन्त्रालयबाट मेसिन खरिदका लागि झकझकाउने काम भइरहेको उनको भनाइ छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पाण्डेले गत वर्ष आन्तरिक कारणले खरिद प्रक्रिया सुरु हुन नसकेको स्वीकार गरे । उनले भने, ‘गत आर्थिकबर्षमै मेसिन खरिदका लागी साढे ८ करोडको बजेट आएको थियो तर त्यसलाई कार्यान्वयन गर्न सकिएन । चालु आर्थिक वर्षमा पनि ५० लाख थप भएर ९ करोडको बजेट आएको छ । सबै तयारी भइसकेको छ अबको १० दिन भित्रै टेन्डर हुन्छ ।’

प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा बिरामीहरू सास्ती खेप्न बाध्य छन् । सो सेवाको लागि अस्पताल पुग्ने बिरामीलाई अहिले निजी अस्पताहरुमा पठाइने गरिएको छ । त्यो पनि प्रभावकारी नभएको बिरामीको गुनासो छ ।
मन्त्रालयले मेसिन खरिदका लागि बजेट विनियोजन गर्दा पनि अस्पताल प्रशासनले खरिद प्रक्रिया सुरु नगरेको भन्दै सेवाग्राहीहरूले आक्रोस पोखेका छन् । धनगढी उपमहानगरपालिका १० जुगेडाका भगीरथ रानाले अस्पतालमा तत्काल सिटी स्क्यान सेवा सुरु हुनुपर्ने माग गरे । उनले भने, ‘अहिले अस्पतालमा आउने बिरामीहरूलाई सिटी स्क्यानका लागी निजी अस्पतालहरूमा पठाइने गरेको छ, यो निकै खर्चिलो छ ।’ उनले थपे, ‘हामी सेती प्रादेशिक अस्पतालबाट यो सेवा लिन चाहन्छौ हामीलाई निकै सहज हुन्छ ।’ बिरामीहरू निजी क्षेत्रको सिटी स्क्यान मेसिनबाट सामान्य सेवाको लागि ८ हजार देखी १८ हजारसम्म तिर्न बाध्य छन् ।

जबकि सेती प्रादेशिक अस्पतालमै यो सेवा सुरु भए बिरामीले ४ हजारमै सेवा पाउनेछन् । सेवाग्राही यथासिग्र अस्पतालमा सिटी स्क्यान सेवा सुरु हुनुपर्ने बताउँछन् । अस्पतालमा रहेका डाक्टरहरूको निजी अस्पतालमा लगानी भएका कारण प्रादेशिक अस्पतालमा सिटी स्क्यान खरिद गर्न नखोजेको अर्का सेवाग्राही रूपबहादुर कुँवरको आरोप छ । उनले भने,‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा राजनिजी मौलाउँदै गएको छ । यो गलत परम्परा हो ।’ सबैले आवाज उठाएर यसको समाधान खोजिनु पर्छ, रेफरल अस्पतालका रूपमा रहेको यस अस्पतालमा बिरामीको निकै चाप छ सिटी स्क्यान मेसिन यथाशीघ्र खरिद गरिनुपर्छ ।’ कसैको व्यक्तिगत स्वार्थका कारण नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने उनको तर्क छ ।