भालुको आक्रमणबाट गम्भिर घाइते भएका बटालाको निसर्गमा उपचार सफल
2020/08/08, 3:39
 
bhalu

भालुको आक्रमणबाट अनुहार क्षतविक्षत भएका एक जनाको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा सफल उपचार गरिएको छ। अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ मा भालुको आक्रमणबाट गम्भिर घाईते भएका भैरे बटालाको उपचार सफल भएको हो।

उनलाई अस्पतालले शुक्रबार डिस्चार्ज गरेको छ। भालुको आक्रमणबाट उनको अनुहारको मासु र हड्डी पुरै थिलोथिलो भएको थियो। गत शुक्रबार बिहान घर नजिकैको जंगलमा घाँस काट्दै गर्दा भालुले आक्रमण गरेपछि ५० बर्षीय बटलालाई आफन्त र स्थानीयले आछामकै बयलपाटा अस्पताल लगेका थिए। त्यहाँ उपचार सम्भब नभएपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा ल्याईएको घाइतेका ज्वाई भरत बुढाले बताए।

भालुको आक्रमणमा परि गम्भीर घाईते बुढाको वरिष्ठ मुख, अनुहार तथा बंगारा विशेषज्ञ डाक्टर दिपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा, वरिष्ठ फिजिसियन रामचन्द्र पौडेल, मेडिकल अफिसर डाक्टर राजेन्द्र महर लगायतको टिमले उपचार गरेको थियो।

यस अघि पनि गाईगोरु, कुकुर, बाघ लगायतको आक्रमण र टोकाइबाट घाईते भएकाहरुको सफल उपचार तथा शल्यक्रिया भएको अस्पतालका संचालक कुबेर बहादुर शाहीले बताए।