कोरोना आशंकामा ४ जना सेती अस्पतालको आइसोलेशनमा भर्ना
2020/05/17, 4:46
 
seti hopital

कोरोना आशंकामा चार जना सेती प्रादेशिक अस्पतालको आईसोलेशनमा भर्ना भएका छन । भर्ना भएका चारै जना कैलाली जिल्लाका वासिन्दाहरु रहेका छन् । 

आइसोलेशनमा भर्ना भएकोमध्ये कैलालीको कैलारी गाउँपालिका–१ हसुलियाकी २७ वर्षीया महिला, धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष, उनकी २९ वर्षीया श्रीमती र धनगढी उपमहानगरपालिका –१३ का ३० वर्षीय पुरुष रहेका छन् । 

उनीहरुको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिएको छ । आइसोलेसनमा भर्ना भएका मध्ये हसुलियाकी २७ वर्षीया महिलामा ज्वरो तथा श्वास प्रश्वासमा समस्या देखिएको छ ।

ती महिलाका भाई दुई महिना अघि देहरादुनबाट आएको  थिए । यस्तै गेटाका ३० वर्षीय पुरुषमा ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको हो । धनगढीका ३० वर्षीय पुरुष डेढ महिना अघि मलेसियाबाट आएका थिए । ती पुरुषमा डाईरिया र उनकी श्रीमतीमा घाँटी तथा छाती दुख्ने समस्या देखिएपछि आफै अस्पताल पुगेको सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।