सुदुरपश्चिममा कोरोना संक्रमण भयावह बन्दै, विज्ञ भन्छनः जोखिम झनै बढ्यो
2020/08/15, 8:49
 
corona

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ । विज्ञहरुले यसलाई थप चुनौतीका रुपमा लिनुपर्ने र सजगता अपनाउनुपर्ने बताएका छन् । शुक्रबार ५ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या सय नाघेको हो । शुक्रबार प्रदेश १ मा १ जना र प्रदेश २ मा ४ जनाको मृत्यु भएको छ । विहीवार मात्रै सुदुरपश्चिमका एक जनाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै सुदुरपश्चिममा कोरोनाका कारण सुदुरपश्चिमका ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले जानकारी दिए । । अर्थात कोरोनाले मृत्यु हुने संक्रमितको ११ प्रतिशत रहेको छ । 

विज्ञहरुले मृत्युदर बढ्न सक्ने जोखिम रहेको भन्दै थप सजगता अपनाउनुपर्ने बताएका छन् । सेती अञ्चल अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर डाक्टर निराजनदत्त शर्माले कोरोनाबाट संक्रमितको संख्या बढेसँगै मृत्यु दर समेत बढ्ने जोखिम रहेको बताए । ‘कोरोनाबाट संक्रमितमा लक्षण देखिएको छ, कोही गम्भीर बिरामी समेत छन्,’ डा. शर्माले भने, ‘संक्रमित बढेसँगै केही समय मृत्युदर समेत केही बढ्ने देखिन्छ ।’ ‘हामीले कस्ता कदम चाल्छौं, स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाएर परिचालन गछौं भन्ने मुख्य कुरा हो, समयमै उपचार दिन नसके मृत्युदर बढ्छ ।’ शर्माले थपे ।

अर्का फिजिसियन डाक्टर शेरवहादुर कमरले पनि लक्षण सहितको संक्रमित बढ्दै जाँदा मृत्युदर पनि बढ्दै जाने बताए । ‘संक्रमणबाट मृत्यु हुनेको संख्या सय पुग्यो, यो प्रदेशमा ११ जनाको ज्यान गईसकेको छ ।’ उनले भने, ‘अब यसले थप जोखिम बढाएको छ, मृत्युदर बढाउने देखाएको छ ।’ सरकारले कोरोना संक्रमण बढ्न नदिन चैत ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउनकै अवधिमा बाजुराकी एक बालिकको कोरोनाबाट सुदुरपश्चिममा पहिलो मृत्यु भएको थियो । उनी भारतबाट आएर क्वारेन्टिनमा वसेकी थिईन् । जेठ र असार महिनामा मात्रै १० जनाको मृत्यु भएको थियो । त्यसमा कैलालीका सवैभन्दा वढी चार जना रहेका छन् ।