सुदूरपश्चिमका कोरोनाका कारण १२ जनाले गुमाए ज्यानः ९ जनाको मृत्यु, तीन जनाद्धारा आत्महत्या 
2020/08/15, 10:54
 
corona

सुदूरपश्चिममा साढे दुई महिनाको अवधिमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली र अछामका चार÷चार तथा बाजुरा र बझाङका दुई÷दुई जना संक्रमितको मृत्यु भएको हो । त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन् । दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन् ।  सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको संक्रमणबाट पहिलो मृत्यु जेठ १८ गते भएको थियो । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो। आमाबुवासँग भारतको नयाँदिल्लीबाट आएकी दुई बर्षीया बालिकामा ज्वरो आएपछि श्वासप्रश्वासमा सममस्या थियो । उनको मृत्युपछि उनकी आमामा समेत संक्रमण देखिएको थियो । 

जेठ २४ गते कोरोना भाईरसले सुदूरपश्चिममा दोस्रो मृत्यु भयो । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनमा पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो भने अन्तिम संस्कार गरेपछि मात्रै कोरोना रिपोर्ट आएको थियो । असार ३ मा कोरोना भाईरसको संक्रमणले कैलालीमा दोस्रो र सुदूरपश्चिममा तेस्रो मृत्यु भयो । कैलालीको लम्कीचुवा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलाको कोरोना भाईरसका कारण मृत्यु भएको थियो। उनलाई न्यूरो सम्बन्धी समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो । शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो । 

सोही दिन कैलालीका थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो । जिल्लाको गोदावारी नगरपालिकाका ४६ वर्षीय पुरुषको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार क्रममा मृत्यु भएको थियो । उनमा भने मृत्यु अघि नै कोरोना पुष्टि भएको थियो । धनगढीको नवजिवन अस्पतालमा भर्ना हुँदा उनमा संक्रमण पुष्टि भएको थियो भने त्यसपछि मात्रै उनलाई सेती अस्पतालमा लगिएको थियो । उनी बस व्यवसायी थिए । असार १३ गते कैलालीकै थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो ।

क्यान्सर पीडित कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरूषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको थियो । मृतक फोक्साको क्यान्सरको उपचार गराइरहेका थिए भने मृत्युअघि नै कोरोना पुष्टि भएको थियो । असार १६ गते कोरोना भाईरसको संक्रमणबाट अछाममा पहिलो मृत्यु भयो । चार दिन क्वारेन्टिन बसेर घर फर्किएको एक हप्तापछि अछाम, रामारोशन गाउँपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनको पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो । बयालपाटा अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो । मृतक भारतबाट आएका थिए । 

साउन १३ गते कोरोनाले बझाङमा पहिलो मृत्यु भयो । बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो। उनको साउन ९ गते नै घरमा मृत्यु भएको थियो भने त्यसपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । साउन २५ गते अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । मृत्यु हुनुभन्दा पहिले नै उनको स्वाब संकलन गरे पनि मृत्युको दुई दिनपछि मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । साउन २९ गते अछामका थप एक जनाको कोरोना भाईरसका कारण मृत्यु भयो । रामारोशन गाउँपालिका वडा नम्वर ५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी मुटुरोगबाट ग्रसित थिए । 

कोरोना संक्रमितले गरे आत्महत्या
सुदूरपश्चिममा कोरोना पुष्टि भएपछि एक युवकले आत्महत्या पनि गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका एक युवकले असार तेस्रो साता आत्महत्या गरेका हुन् । खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षका युवकले आत्महत्या गरेका हुन । जेठ १९ गते भारत वाट आएका उनी क्यारेन्टाइममा बस्दै आएका थिए ।त्यहाँ रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गर्दा उनको मात्र पोजेटिभ देखिएको थियो । कोरना पुष्टि भएर एक्लै बस्दा उनले आत्महत्या गरेका हुन् ।

आत्महत्यापछि कोरोना पुष्टि
सुदूरपश्चिममा क्वारेन्टिनमै आत्महत्या गरेका थप एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको थियो । मृत्युपछि आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको थियो । बडिमालिका नगरपालिका –२ माझिगाउँका ४५ वर्षीय पुरुषले जेठ ३० गते शुक्रबार क्वारेन्टिनमा आत्महत्या गरेका थिए । उनी जेठ २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका थिए ।

क्वारेन्टिनमा बसेका बेला आत्महत्या गरेका थप एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको थियो । अछाम घर भएका ४३ बर्षीय पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँ स्थित आफन्तकहाँ पुगेका थिए । आफन्तले क्वारेन्टिनमा बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टिनमा राखेको थियो । त्यसपछि उनले क्वारेन्टिनमै आत्महत्या गरेका थिए भने मृत्युपछि कोरोना पुष्टि भएको थियो ।